२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

निर्वाचन बहिष्कार गर्ने तराई मधेश जनता पार्टी (टाईगर्स)को घोषणा

मंगलवार , कार्तिक २२, २०७९

भैरहवा, २२ कात्तिक ।
तराई मधेश जनता पार्टी (टाईगर्स) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टी र सरकारबीच विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकोले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले बताए । उनले भने, ‘पार्टीका नेता कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता नभएको र पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरिएकाले बाध्य भएर निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौं, शान्तिपूर्ण रुपमा निर्वाचन बहिष्कार गर्छौं । ’

निर्वाचनमा सहभागी हुने वातावरण सरकारले नै सिर्जना गर्न नसकेको उनको भनाइ छ । विगतमा भएको सम्झौता कार्यान्वयनमा गर्न सरकार तयार भए आफूहरु निर्वाचनमा सहभागी हुन तयार रहेको पाण्डेले बताए ।

पार्टीको कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने, सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, झुठा मुद्दामा फरार रहेका कार्यकर्तालाई देशमै शान्तिपूर्ण रुपमा बस्न वातावरण मिलाउनुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, भ्रष्टाचार गरी आर्जन भएको सम्पत्ति छानबीन गरी सरकारीकरण गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने आफूहरुको माग रहेको पाण्डेले बताए ।

त्यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, किसानको समस्या समाधान गर्नुपर्ने, बेरोजगारलाई स्वदेशमा रोजगारीको ग्यारेण्टी हुनुपर्ने माग रहेको उनले बताए ।

त्यसै गरी पार्टीको विधानविपरीत गतिविधि गरेकाले पार्टीका केन्द्रीय महासचिव रोशन शाहलाई निष्काशन गरिएको पाण्डेले जानकारी दिए । उनले भने, ‘अन्य पार्टीबाट महासचिव रोशन शाह निर्वाचनमा उम्मेदवार बन्नुभएकोले उहाँलाई पार्टीबाट निकाष्शन गरिएको छ ।’

तराई मधेश जनता पार्टी (टाईगर्स)का केन्द्रीय सदस्य धुव्र शर्माले मधेशी जनताको माग पूरा नभएको बताए । उनले नागरिकता र सुकुम्बासीसम्बन्धी समस्या समाधानतर्फ सरकारले ध्यान नदिएको बताए ।