
बुधवार , कार्तिक २३, २०७९
रुपन्देही, २३ कात्तिक ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेको जीत सुनिश्चित रहेको बताएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका क्षेत्र नम्बर ५ को चुनावी प्रचारप्रसारका क्रममा उनले सो कुरा बताएका हुन् ।
एमालेले अघि सारेका रूपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार वासुदेव घिमिरे, रूपन्देही–५ (क) का भूमिश्वर ढकाल र ५ (२) का उम्मेदवार रामचन्द्र यादवले चुनाव जित्ने उनले दावी गरे । राष्ट्रको समृद्धि र विकास गर्ने, राष्ट्रियताका बारेमा सोंच्ने पार्टी नेकपा एमाले मात्र रहेको बताउँदै उनले भने, ‘जनताले हामीलाई र हाम्रो नेतृत्व बुझेका छन् मतदाताहरुले हामीलाई विश्वास गर्छन् हामीलाई भोट दिन्छन् ।’ यस क्षेत्रको बाटो तथा पुल निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी सुधार, तालतलैया संरक्षण लगायतका कार्य गरिएको उनले बताए ।
नेपाली कांग्रेसबाट जितेका यस क्षेत्रका संसद भरत शाहले १५ वर्षसम्म विकासका कुनै पनि कार्य गर्न नसकेकाले पनि एमालेले अघि सारेका उम्मेदवारहरूले जित्ने उनको भनाइ छ ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वासुदेव घिमिरेले रूपन्देही क्षेत्र नम्बर ५ को विकासको जिम्मा आफूले लिने बताए । उनले भने, ‘मेरो पहिलो प्राथमिकता भूमिहिन, अव्यवस्थित बसोबासी, सुकुम्बासी समस्या समाधान गर्नु हो ।’
यस्तै रूपन्देही क्षेत्र नम्बर ५ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार रामचन्द्र यादवले समृद्धि र विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधारको विकास, कृषि क्षेत्रको आधुनिकीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij