
सोमवार , मंसिर २९, २०७७
बुटवल, २९ मंसिर ।
पाल्पामा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा वृहत र्याली सम्पन्न भएको छ । पाल्पाको रामपुरमा कालिगण्डकी बेसी जनता तथा पाल्पा जिल्लाबासी जनताको आयोजनामा मोटरसाइकल तथा कार र्याली सपन्न भएको हो ।
र्यालीका सहभागीहरुले ‘राजा ल्याऔं, देश बचाऔ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।
र्याली बेझाडबाट सुरु भई किसानबारी, तालपोखरा, मटेरी हुँदै पुनः बेझाड चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
शिव सेना नेपाल पाल्पाका जिल्ला अध्यक्ष ओमप्रकाश पाण्डेको स्वागत मन्तव्यवाट सुरु भएको सभामा अभियान्ता राजेन्द्र ढकाल र शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत बाबाले सम्बोधन गर्दै राष्ट्रिय एकता र हिन्दु राष्ट्रका लागि राजसंस्थाको पुनस्थापना हुनुपर्ने बताएका थिए ।
सो अवसरमा शिव मन्दिरमा रामपुरबासी बृद्धबृद्धालाई शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले सम्मान गरेका थिए । र्यालीपछि सभामा शिव सेनाकै केन्द्रीय सदस्य अनिल जैसवाल, नारायण अर्याल लगायतले बोलेका थिए । शिव सेना नेपालले आज सोमबार कपिलवस्तुमा दिउँसो १ बजे प्रदर्शन गर्ने कार्यक्रम राखेको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij