
बिहिवार , कार्तिक २४, २०७९
रूपन्देही, २४ कात्तिक ।
सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्र नम्बर १ को विकासमा स्रोतको कमी हुन नदिइने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक पर्ने स्रोतको व्यवस्थापन आफ्नो दायित्व भएको बताए ।
मतदातासँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले जिताउनुभयो भने एउटा सांसद्को रूपमा मैले गर्नुपर्ने दायित्वबोध मलाई छ । यहाँको विकास स्थानीय सरकारमार्फत नै हुने हो तर त्यसलाई स्रोतको जोहो गर्ने काम मेरो हुनेछ र त्यो भुमिका मैले पूरा गर्नेछु ।’
व्यक्ति शक्तिशाली हुने, व्यक्ति मोटाउने र व्यक्तिले शासन गर्ने प्रणालीको अन्त्य गर्दै देशको संविधान, ऐन कानुन र स्थानीय तहमा आउँदा यहाँका सामाजिक संघ–संस्था, आमा समूह, क्लबहरू शक्तिशाली हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन् ‘लोकतन्त्रमा जनताहरू बलिया हुनुपर्छ, जनताले बनाएका संघ–संस्थाहरू बलिया हुनुपर्छ र देशमा विधिको शासन हुनुपर्छ । ’
यसैबिच रुपन्देही १९१० का उम्मेदवार विश्वनाथ यादवले युवाहरूलाई उत्पादनमा जोड्ने बताएका छन् । देवदह नगरपालिका–१२ मा घरदैलोपछिको कोणसभालाई सम्बोधन गर्दै नेता यादवले युवालाई उत्पादनसँग जोडेर समग्र क्षेत्रको आर्थिक स्तरोन्नति गरिने बताए । उत्पादनसँग विकास जोडिएकोले कृषि, कलकारखाना लगायतका क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गरिने यादवको भनाइ थियो ।
त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ (२) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनको जीत भए क्षेत्रको विकासमा सहज हुने बताए । आफ्नो लक्ष्य यस क्षेत्रको समग्र विकास र समृद्धि भएको उल्लेख गर्दै नेता रज्जाकले पुराना आयोजनाको पूर्णता र रणनीतिक महत्वका नयाँ योजनाको सुरूवात गरिने बताए ।
गठबन्धनको घरदैलो अभियान अन्तर्गत बिहीवार तिलोत्तमाका १५, १६ र १७ तथा देवदह–१२ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए । रुपन्देही–१ मा देवदह, रोहिणी, ओमसतिया र तिलोत्तमा गरी जम्मा ३३ वटा वडा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij