२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

राप्रपा प्रवेश गरेका स्वतन्त्र उम्मेदवार नवाबले भने–विकासका लागि दीपक बोहरालाई जिताउनुपर्छ

शुक्रवार , कार्तिक २५, २०७९

भैरहवा, २५ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवाब मुसलमान बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा, एमाले र जसपाका संयुक्त उम्मेदवार राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई समर्थन गर्दै मुसलमान राप्रपामा प्रवेश गरेका हुन् । उनलाई पूर्वमन्त्री बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गरेपश्चात बोल्दै मुसलमानले आफ्नो समर्थन बोहरासहितको तीनदलीय तालमेलका उम्मेदवारलाई हुने बताए । उनले भने, ‘म पनि चुनावी मैदानमा थिए, तर घरदैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोही छैन भन्ने महसुस गरे । दीपक बोहरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्न यो राप्रपा प्रवेश गरेको हुँ । ’ विकासका लागि दीपक बोहरालाई अत्याधिक मतले जिताउनुपर्ने उनको भनाइ छ ।

टी टेबल चुनाव चिन्ह लिएर रुपन्देही–३ मा चुनावी प्रतिष्पर्धामा मुसलमान थिए । २०७४ सालको निर्वाचनमा पनि मुसलमान प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बनेका थिए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी स्वतन्त्र उम्मेदवार नवाब मुसलमानको नेतृत्वमा उहाँका ३ सय जना समर्थक राप्रपामा प्रवेश गरेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले बताए ।

सोमबार लोसपा परित्याग गरी पूर्व मन्त्री कल्पना पाण्डेले तीनदलीय तालमेलको तर्फबाट साझा उम्मेदवार रहेका राप्रपाका वरिष्ठ नेता दिपक बोहोरा, जसपा नेता महेन्द्र यादव र एमाले नेता तुलसी चौधरीलाई समर्थन गरेकी थिइन् ।