२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देही–२ मा पहिलेभन्दा फराकिलो मतान्तरले विजयी हुँदैछौ : विष्णु पौडेल

शुक्रवार , कार्तिक २५, २०७९

बुटवल, २५ कात्तिक । 
नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दावी गरेका छन् । रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरी नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उनको भनाइ छ । विकास र समृद्धिका लागि आगामी मंसिर–४ को निर्वाचनबाट जनताले नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने पौडेलले बताए ।  

आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ का विभिन्न वडाहरुमा घरदैलो अभियानलाई तीव्रता दिएका पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिवद्धता गरेका छन् । ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौं । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाती, भाषाभाषीका जनतालाई समान रुपले हामीले हेर्ने छौं ।’–पौडेलले भने, कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो । 

आज बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक शहरको रुपमा बिकसित गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरु जोड्ने सडकलाई कालोपत्रे गरिने छ भने, मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरु अघि बढाइने छ ।’–पौडेलले भने बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ । 

निर्माणाधिन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उनले बताए । विकास आयोजनाहरुसँगै अबको ध्यान रोजगार सिर्जना, शिक्षा, स्वास्थ्य लगायतका मानवीय विकासमा केन्द्रीत हुने उनको भनाइ छ ।