२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

मतदाताले एमालेका उम्मेदवारलाई जिताउनुपर्छ : घिमिरे

शनिवार , कार्तिक २६, २०७९

रुपन्देही, २६ कात्तिक । 
रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शुक्रबार गैडहवा गाउँपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको छ । 

विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले गैडहवामा व्यवसायिक कृषिको प्रचुर सम्भावना रहेको बताउँदै किसानलाई सिंचाइ, मलखाद, कृषि उपजको बजारीकरणलाई प्राथमिकता दिइने बताए । किसानले लागतअनुसारको आम्दानी गर्न नसकेको बताउँदै उनले कृषि उत्पादन बढाउन अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाइने जनाए । 

गैडहवामा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यका धेरै समस्या रहेकोले ती समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहेको उम्मेदवार घिमिरेले बताए । उम्मेदवार घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गर्दै मतदातालाई एमाले उम्मेदवारलाई जिताउन आग्रह गरे । 

प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले लालपूर्जा वितरणको ७० प्रतिशत भन्दा बढी काम पूरा हुँदै गर्दा एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताउँदै गठबन्धन सरकारले जनतालाई ढाँट्ने काम बाहेक अरू केही नगरेको बताए । 

क्षेत्र नम्बर ५ मा युवाको सर्वाङ्गीर्ण विकासका लागि विशेष अभियानसहितको कार्यक्रम ल्याइने बताउँदै उम्मेदवार ढकालले युवालाई उद्यमशील बनाउन सीप र पूँजीको व्यवस्था हुने गरी युवा उद्यम तथा रोजगार अभियान सञ्चालन गरिने बताए । वैदेशिक रोजगरबाट फर्किएका युवाहरुको सीपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने बताउँदै उनले एमालेले एक घर : एक रोजगारको नीति अनुसार काम गर्ने बताए ।