२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

चुच्चे नक्सा जारी गरेपछि एमालेलाई सरकारबाट हटाइयो : विश्वकर्मा

शनिवार , कार्तिक २६, २०७९

रुपन्देही, २६ कात्तिक ।
नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु परेको बताएका छन् । एमाले नेतृत्वको सरकारले हिम्मत राखेर नेपालको चुच्चे नक्सा जारी गर्न सफल भएको उनले बताए । 

तिलोत्तमा–१०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेता विश्वकर्माले यस्तो बताएका हुन् । रुपन्देहीको क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका विश्वकर्माले भारतले नाकाबन्दी गर्दा समेत बोल्न नसक्नेहरुले राष्ट्रियताको कुरा गर्दा विरोध गरिरहेको बताए ।

उनले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा २० ग्यारेन्टी गरेको बताउँदै घोषणापत्रमा उल्लेख गरिएका विषयलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता गरे । उनले परमादेशबाट बनेको सरकारले नागरिकको समस्याभन्दा पनि आफ्नो सेवा सुविधामा बढी ध्यान दिएको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माले एमाले सरकारबाट हटेपछि सत्ता गठबन्धनले अनावश्यक मन्त्रीहरुको संख्या बृद्धि गरेर राज्यलाई आर्थिक भार थप्ने काम गरेको बताए । 

उनले एमालेको सरकारले राष्ट्रको हितमा महत्वपूर्ण योजनाहरु अगाडि सारेपनि परमादेशी सरकारले बजेट कटौती गरेको बताउँदै रुपन्देहीको क्षेत्र नम्बर १, मा पार्टीको जग बसाल्ने काम गरेको दावी गरे । नेता विश्वकर्माले क्षेत्रको विकासको लागि सुरु गरिएको योजनाहरु पूरा गर्नको लागि एमालेले सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिए । उनले विकासको लागि बजेट विनियोजना गरी काम गर्दा समेत विभिन्न वहानामा अवरोध सृजना गरेर काम गर्न नदिने नेताहरु नै अहिले विकासका कुरा गर्ने गरेको बताए ।

सोही अवसरमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले यस क्षेत्रको विकासको लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । क्षेत्र नम्वर १(२) प्रदेश सभा सदस्यका उम्मेदवार न्यौपानेले एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउन आग्रह गरे ।  घरदैलो कार्यक्रममा तीनै दलका नेता, कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको निर्वाचन परिचालन कमिटीका संयोजक हिमाल पाण्डेले जानकारी  दिए ।