
शनिवार , कार्तिक २६, २०७९
भैरहवा, २६ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मातृका प्रसाद यादवले अन्य उम्मेदवार भन्दा १० हजार बढी मतले निर्वाचन जित्ने दावी गरेका छन् । उनले मंसिर ४ पछि निर्वाचन परिणामले यो कुराको पुष्टि गर्ने बताए ।
शुक्रबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजित आमसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार यादवले आफूले झुटो आश्वासन दिन नजानेको बताए । उनले बोलेर होइन काम गरेर देखाउने बताए । उनले भने, ‘यस क्षेत्रको विकास गरेर देखाउँछु, झुटो आश्वासन बाँड्दिन ।’
मातृका प्रसाद यादव पुनः एमालेमा फर्किन्छ भनेर केही व्यक्तिले भ्रम फैलाइए पनि आफू पुनः कम्युनिष्ट बन्न नसक्ने उनले दावी गरे । माओवादी केन्द्र, कांग्रेसको समर्थनमा उम्मेदवार भएका व्यक्ति कसरी स्वतन्त्र हुन सक्छन् भन्दै नेता यादवले प्रश्न गरे । आफूसँग कुनै पार्टी र संगठन नभए पनि जनताको साथ र सहयोगले निर्वाचन जित्ने उनले दावी गरे । उनले भने, ‘जनताले मेरो साथ छोडनेछैनन्, कति धम्की, प्रलोभन आए होलान् तर म त्यो लोभ, प्रलोभनमा पर्दैन स्वतन्त्र भएर निर्वाचन जित्छु । ’
केही व्यक्तिले मातृका यादव तीनदलीय, पाँचदलीय गठबन्धनका उम्मेदवारसँग मिल्यो भनेर जनतालाई भ्रमित गर्न खोजे पनि जनताले आफूलाई राम्रोसँग चिनेको उनको भनाइ थियो । मातृका प्रसाद यादव महिला चुनाव चिन्ह लिएर प्रचारप्रसार तथा घरदैलो अभियानमा लाग्नुभएको मनोज कुमार यादवले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij