
शनिवार , कार्तिक २६, २०७९
भैरहवा, २६ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार असलम खानले कसैलाई जिताउन र हराउन नभइ स्वयं आफै जित्न उम्मेदवारी दिएको बताएका छन् । उनले चुनाव जितेर देखाउने दावी गरे ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र उम्मेदवारलाई जनताले स्नेह दिनुभएको बताए । उनले १५ वर्षदेखि निरन्तर राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशिल हुनु नै आफ्नो जीतको आधार भएको बताए । उनले भने, ‘म युवा उम्मेदवार हुँ, जनताले मलाई पत्याउनुभएको छ, जनताबाट आर्शीवाद पाएको छु ।’
आफूले जनता समाजवादी पार्टी, नेपाल (जसपा)को लुम्बिनी प्रदेश सचिवालय सदस्य र समाजवादी युवा संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी छोडेर स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । उनले भने, ‘अब स्वतन्त्र भएर काम गर्नेछु, पार्टीमा फर्कनेछैन ।’
मुलुकमा भ्रष्टाचार बढेको तथा कुर्सी र पदका लागि पार्टी परिवर्तन गर्ने खेल भएकाले जनताको रोजाइ स्वतन्त्र उम्मेदवार भएको उनको भनाइ छ ।
स्कुटर चुनाव चिन्ह लिएर उम्मेदवार बनेका खानले खानले घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घोषणापत्रमा गरीब तथा जेहेन्दार विद्यार्थीहरुको लागि उच्च शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने व्यवस्था मिलाइने, शिक्षा र स्वास्थ्यमा विशेष लगानी गरेर विकास गरिने, किसानको लागि अति आवश्यक मलखादको उचित प्रबन्ध मिलाउने, सिचाईको लागि बोरिङ र टेबुल पम्पहरु मर्मत गरी व्यवस्थापन गर्ने योजना ल्याउने, युवाहरुको स्वरोजगारका लागि विभिन्न तालिम र सीप सिकाइ रोजगारको तजुएमा बनाएर दक्षता अनुसार रोजगार दिने व्यवस्था मिलाइने, खानेपानी, बाटोघाटो र सरसफाईमा विशेष जोड दिएर योगदान पुर्याइने उल्लेख छ ।
त्यस्तै प्रत्येक गाउँगाउँमा कुलोसहितको कृषि बाटो निर्माण गर्ने, प्रत्येक स्वास्थ्य चौकीमा विभिन्न रोगबाट ग्रसित बिरामीहरुलाई निःशुल्क औषधीको व्यवस्था मिलाउने, विभिन्न कार्यक्रमका लागि प्रत्येक चोकमा एउटा धर्मशाला निर्माण गर्ने, पशुपालन र कृषिमा ५० प्रतिशत अनुदानको व्यवस्था मिलाएर स्वरोजगारको व्यवस्था मिलाउने घोेषणापत्रमा उल्लेख छ ।
त्यसै गरी अतिविपन्न परिवारको वासस्थानको लागि कमसेकम ४ कोठा भवनको योजना बनाएर भवन निर्माण गरिने, यस क्षेत्रमा विद्यार्थीहरुको पठनपाठनको लागि एउटा स्नातक र स्नातकोत्तरसम्म चल्ने क्याम्पसको निर्माण गरिने, गरीब, विपन्नका लागि निःशुल्क एम्बुलेन्स सेवा पुर्याउने, खेलकुदको लागि एउटा राम्रो रंगशाला बनाउने लगायत बुँदा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij