२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देही–३ : राप्रपामा प्रवेश गर्नेको संख्या बढ्दै

आइतवार , कार्तिक २७, २०७९

भैरहवा, २७ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई जिताउनुपर्छ भन्दै युवाहरु प्रवेश गरिरहेको पार्टीले जनाएको छ ।

यसैबीच शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित कर्णपथमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता तथा स्थानीय राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले पार्टीमा स्वागत गरेका थिए ।

त्यस्तै शनिबार सिद्धार्थनगर नगरपालिका–६ स्थित दुर्गा कलोनीमा आयोजित कार्यक्रममा ५० जना बढी राप्रपामा प्रवेश गरेका थिए । 

त्यसै गरी सिद्धार्थनगर नगरपालिका–३ खजहनामा आयोजित कार्यक्रममा सयौं संख्यामा युवाहरु राप्रपामा प्रवेश गरेका थिए ।

बिहीबार रुपन्देही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान आफ्ना ३ सय जना समर्थकसहित राप्रपामा प्रवेश गरेका थिए । दीपक बोहरालाई समर्थन गर्दै उनी राप्रपामा प्रवेश गरेका हुन् । उनले भने, ‘म पनि चुनावी मैदानमा थिए, तर घरदैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोही छैन भन्ने महसुस गरे । दीपक बोहरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्नुपर्छ, त्यसैले राप्रपामा प्रवेश गरेको हुँ । ’ विकासका लागि दीपक बोहरालाई अत्याधिक मतले जिताउनुपर्ने उनको भनाइ छ ।

315210209_676746170482793_8337894323027076486_n.jpg

यसअघि नै ओमसतिया गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष ज्ञानेश श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष सुन्दर गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशकी पूर्वमन्त्री तथा लोसपा नेतृ कल्पना पाण्डे पार्टी परित्याग गरी तीन दलीय तालमेलका उम्मेदवारलाई समर्थन गरेकी छन् । एमाले, राप्रपा र जसपाकोतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र तुल्सी चौधरीलाई जिताउन आफू लागिपरेको उनले बताइन् । पूर्वमन्त्री पाण्डेले भनिन्, ‘दीपक बोहरा रुपन्देहीलाई उज्यालो बनाउने दियो हो, विकासप्रेमी नेता बोहरालाई जिताउनु आजको आवश्यकता हो ।’

314717970_535405408012204_239536323033660316_n.jpg

राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले भने,‘राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको छ । ’ उनले वर्तमान गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको दावी गरे ।