images

शनिवार, बैशाख १५ गते २०८१

पश्चिम नवलपरासी २ : पूर्वगृहराज्यमन्त्री कँडेललाई माओवादीको भर

पश्चिम नवलपरासी २ : पूर्वगृहराज्यमन्त्री कँडेललाई माओवादीको भर

images
images
images
आइतवार, कार्तिक २७ २०७९
आइतवार, कार्तिक २७ २०७९
  • पश्चिम नवलपरासी २ : पूर्वगृहराज्यमन्त्री कँडेललाई माओवादीको भर


    बुटवल, २७ कात्तिक । राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकारमा रहेका दल तथा नेताहरुको सहकार्यले प्रमाणित गर्दछ । कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेताकार्यकर्तालाई आंतककारी घोषणा गर्दै शीर्ष नेताहरुको टाउकाको मूल्य तोक्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अहिले गठबन्धनको मुख्यसहयात्री माओवादीकै मत आवश्यक भएको छ । 

    images

    पश्चिम नवलपरासी क्षेत्र नं. २ मा उम्मेदार रहेका देवेन्द्रराज कँडेललाई कांग्रेस एमालेको हाराहारीमा मत रहेकाले  माओवादीको मत जितका लागि आवश्यक भएको हो । एमालेले जसपाको साथ पाएको र राप्रपाले लोसपाको साथ पाएकाले पनि उनलाई माओवादीको साथ चाहिएको हो । नेता कँडेलले भने आफू तत्कालीन सरकारको प्रतिनिधि भएकाले घोषणा गरेको र अहिले अवस्था फेरिएको सबैले पुराना विषय बिर्सेको बताए ।  

    तीन दशकयता निरन्तर चुनाव लड्दै आएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ भने प्रतिस्पर्धामा नयाँ उम्मेदार रहेका छन् । यो बीचमा उनी अधिकांश नयाँ अनुहारसँग निर्वाचन लड्दै आएका छन् । कँडेलले यस क्षेत्रबाट यसअघि ६ पटक चुनाव लडेका छन् । जसमा ३ पटक जितिसकेका छन् । अब उनी ७ औं संसद यात्राको दौडमा छन् । कंडेल २०५६ र २०५८ सालमा २ पटक गृह राज्यमन्त्री बनेका थिए । कंडेलले एकपटक जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । ०५१ सालमा सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद यात्रा सुरू  गरेका कंडेल त्यसयता नियमित लड्दै आएका छन् । २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधानलाई पराजित गरेका थिए ।

    २०६४ सालमा साविक ५ नम्बर क्षेत्रबाट उम्मेदार रहेका उनी  तत्कालीन मधेसी जनाधिकार फोरमका रामवचन चौधरीसँग पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका कंडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित भएका थिए ।२०७४ सालमा उनले तत्कालीन वाम गठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई भारी मतान्तरले पराजित गरेर पुनः संसद भवन प्रवेश गरेका थिए । अहिले उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद दीपेन्द्र अधिकारी रहेका छन् । 

    ‘मुन्ना बाबु’को नामले परिचित कंडेल नेपाल भारत दुई देशको नागरिकता भएको विषय र दुवै देशमा लगानी गरेका कारण पटक पटक विवादमा तानिए पनि उनी लामो समयदेखि निरन्तर कांग्रेसको राजनीतिमा रहेका छन् ।कांग्रेसलाई सत्तारुढ गठबन्धनको साथ छ । एमालेले जसपासँग तालमेल गरेको छ भने राप्रपाले लोसपासँग तालमेल गरेर यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टी संस्थापन समूहको पहुँचमा रहेका कंडेलका समर्थकहरु यो क्षेत्रमा उनको प्रतिस्र्धामा कोही नभएको बताउँछन् । कांग्रेस नेता भरत थापाले कंडेलको प्रतिस्पर्धी नै नभएको दाबी गरे । 

    नेता कंडेलले आफ्नो बुवा १५ सालमा ननवलपरासीबाट सांसद बनेर धेरै काम गरेको र आफूले राजनीति सुरु गरेपछि पनि धेरै कामको सुरुवात गरेको बताउँछन् । ‘मैले यो क्षेत्रमा महेशपुर नाकालाई स्तरोन्नति बनाउने घोषणा गरेको थिएँ, छोटी भन्सारलाई स्तरोन्नति भएको छ, सो क्षेत्रको भौतिक पूर्वाधारमा पनि उस्तै काम भएको छ, यो नाका हुँदै सुनवल पाल्पाको माथागढी हुँदै कालीगण्डकी कोरिडोरमा जोड्न सडक आयोजना अगाडि सारेको छु, भारतीय पर्यटकलाई सिधै गण्डकी प्रदेशसँग जोडेर यसको विकास गर्ने योजना छ म आउने कार्यकालमा त्यो काम पूरा गर्छु’ उनले भनेका छन् । 

    गठबन्धनबाट प्रदेशसभा २(१) मा बाबुराम भट्टराई निकट चिनक कुर्मी र २(२) मा कांग्रेसका बैजनाथ कलवार उम्मेदवार छन् । एमाले–जसपा तालमेलबाट प्रदेशसभा २(१) मा एमालेका थानप्रसाद गैरे र २(२) मा जसपाका धरेन्द्र यादव उम्मेदवार छन् । एमाले जिल्ला उपसचिव राजनकुमार आचार्यले कंडेलले निरन्तर जिल्लाबाट चुनाव लड्दै आए पनि यस क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको भन्दै यसपटक एमालेले जित निकाल्ने दाबी गरे । ‘एमाले–जसपा गठबन्धनले सत्तारुढ गठबन्धनलाई पराजित गर्छाैं, जीत हाम्रो हुन्छ । दीपेन्द्र अधिकारीले जित्नुहुन्छ,’ उनले भने ।  

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राप्रपाबीच तालमेल छ । यहाँ राप्रपा–लोसपा गठबन्धनबाट राप्रपाका नेता ध्रुवबहादुर प्रधानले प्रतिस्पर्धा गरेका छन् भने प्रदेश २(१) मा लोसपाका पञ्चराम चौधरी र २(२)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा कांग्रेसका कँडेल र एमालेका अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ । 

    यस्तो छ स्थानीय चुनावको मतभार
    स्थानीय तहमा वडाध्यक्षको मतलाई आधार मान्दा कांग्रेस अगाडि छ, कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत छ । २०७४ सालको निर्वाचनमा कांग्रेसका कँडेल वाम गठबन्धनभन्दा ८ हजार मत कम थियो तर चुनावको नजिता आउँदा कँडेलले १० हजार मतान्तरले वाम गठबन्धनलाई हराएका थिए । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij