
आइतवार , कार्तिक २७, २०७९
बुटवल, २७ कात्तिक । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।
रुपन्देहीमा रहेका बिभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कहीकतै उल्लघंन भएका कारवाहीको भागीदार हुने बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कृष्ण कोइरालाले जिल्लामा आचारसंहिताका उजुरी खासै ठूला नआएको र सामान्य किसिमका आएकाले दलहरुलाई बोलाएर सम्वादकामार्फत सुल्झाएको वताए । उनले पहिले हुने निर्वाचनमा लागू भएका आचारसंहिताका बुँदाहरुलाई दलहरुले कार्यान्वयन गरेको तर नयाँ थप भएका केही बुँदाहरुलाई पालना नगरेको पाइएपछि दलका प्रमुखहरुलाई ध्यानाकर्षण गराएको जनाए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरुलाई सतर्क बनाएको बताए । उनले ढुक्क भएर मतदान गर्न आह्वान गरे । प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देहीमा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८ सय ८८, म्यादी प्रहरी १ हजार ३ सय ९५, ८ हजार भन्दा बढी कर्मचारी र सेनालाई आवश्यकता अनुसार प्रयोग गरिने जानकारी गराए ।
जिल्लामा २ सय १३ मतदानस्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको छ । जिल्लाको दक्षिणतर्फको नेपाल भारत सीमा नाकालाई उच्च सतर्कता अपनाउँदै भारतीय सुरक्षा प्रमुखहरुसँग बैठक बसेर दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने गरी मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बताए ।
कार्यक्रममा नेकपा एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई आफ्नो पार्टीले विशेष ध्यान बताउँदै आचारसंहिता पूर्ण रुपमा पालना गरेको दावी गरे ।
उनले आफ्नो पार्टीले नगर, क्षेत्र हुँदै टोलसम्म कहिकतै त्रुटी नगर्नको लागि निर्देशन दिएको बताए । उनले केही कमजोरी भएका सम्बन्धित निकायलाई सुझाव दिन आग्रह गर्दै कारवाही गर्ने निकायले दलहरु आग्रह पूर्वाग्रह गरेर कारवाही गर्न नहुने माग राखे ।कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका इञ्चार्ज फैज अहमद खानले सत्ता गठबन्धन दलहरु निर्वाचन आचारसंहिता लागू गनुपर्नेमा पटकपटक छलफल भएकोले कुनै शंका गर्न नहुने बताए ।
उनले गठबन्धन दलहरु आचारसंहिता पालना गर्नको लागि प्रतिवद्ध रहेको जिकिर गरे । कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij