
आइतवार , कार्तिक २७, २०७९
बुटवल, २७ कात्तिक ।
पाँचदलीय सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि सभाका उम्मेदवार केशव सुर्यवंशीले आफू विजयी बनेर संसदमा पुगेको दिन भ्रष्टाचारविरुद्वको संकल्प प्रस्ताव दर्ता गर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नगरी दिगो शान्ति र समृद्धि सम्भव नहुने कुरा उल्लेख गर्दै उम्मेदवार सुर्यवंशीले यसअघि जितेर जाने नेताहरु भ्रष्टाचारमा लिप्त भएकै कारण मुलुक अधोगतितर्फ उन्मुख गएको दावी गरेका छन् ।
उनले भने, ‘मैले जितेर संसद भवन पुगे भने मेरो पहिलो कदम पहिलो दिनमै भ्रष्टाचारविरुद्वको संकल्प प्रस्ताव दर्ता गर्नेछु र चुनाव जितेर संसदमा पुग्नेहरुले भ्रष्टाचारविरुद्वको कसम खाएर मात्र बैठकमा बस्ने व्यवस्था मिलाउन प्रयास गर्नेछु । मेरो दोस्रो प्रयास बेरोजगारीको अन्त्यका लागि हुनेछ । तेस्रो कदम कृषि क्रान्तिका लागि पनि संकल्प प्रस्ताव दर्ता गर्नेछु । कृषि क्षेत्रको प्रभावकारी विकास बिना सवल अर्थतन्त्रको विकास नहुने उम्मेदवार सुर्यवंशीको जिकिर रहेको छ ।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका सुर्यवंशीले बुटवल–१२ तामनगरमा घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै मुलुकलाई औद्योगिक क्रान्तिमार्फत आर्थिक विकास गरी बेराजगारीको अन्त्य गरेर मात्र दिगो विकास र समृद्वि सम्भव भएको कुरा उल्लेख गरे । देशको युवा शक्ति पलायन भइरहेकोबारे यसअघि सत्तामा बस्नेहरुले यसलाई रोक्न कुनै प्रयास नगरेको भन्दै सुर्यवंशीले श्रमशक्ति बेचेर कुनै पनि देश धनी नहुने ठोकुवा समेत गरे । यी तमाम समस्याको समाधानका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरे ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्री घिमिरेले उत्पादकत्व वृद्धि गरी आर्थिक विकास र कृषि क्रान्तिबाट नै समृद्धिको मार्गदिशा तय गर्न सकिने बताए । उद्योग र पर्यटनको विकासबाट नै लुम्बिनी प्रदेश समृद्धिको दिशातर्फ अग्रसर हुने कुरामा जोड दिदै प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका क्षेत्रीले दिर्घकालीन सोंचसहित गरीबी निवारण र बेरोजगारीको अन्त्य गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । यसका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा नेपाली काँग्रेस क्षेत्रीय सचिव परमानन्द भट्टराई, नगर उपसभापति ज्योती भण्डारी, सचिव गंगा पन्थी, बुटवल–१२ का सभापति धर्म आचार्य लगायतले दिगो शान्ति, राजनैतिक स्थिरता र विकासका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij