
सोमवार , कार्तिक २८, २०७९
रुपन्देही, २८ कात्तिक ।
नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार वासुदेव घिमिरेले स्थानीयको सहभागीतामा क्षेत्र नम्बर ५ को विकास गरिने बताएका छन् । सैनामैनामा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा उनले भने, ‘नेकपा एमालेको स्पष्ट भिजन छ, हामी काम गर्न उत्साहित छौं, मुलुकको समृद्धि र विकासका लागि हामी प्रतिबद्ध छौं ।’
यस क्षेत्रमा रहेको विभिन्न समस्याहरू बुझेर हामीले नागरिकका चाहना बमोजिम विकासका कार्य गरिने उनको भनाइ छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यको विकास, बाटो तथा पुल निर्माण, फोहोरमैला व्यवस्थापन लगायतका काम स्थानीयकै सहभागीतामा गरिने उनले बताए ।
स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा यहाँको समस्या समाधान गरिने समेत उनको भनाइ छ । ‘मुलुकको समृद्धि र विकासका लागि हामीले काम गर्छौं, ’उनले भने ।
आफू विजयी भएपछि अव्यवस्थित बसोबासी, सुकुम्बासी, भूमिहीन समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उनले प्रतिवद्धता व्यक्त गरे ।
गठबन्धनको सरकारका कारण उद्योग, व्यवसाय टाट पल्टने अवस्थामा आएको उनले आरोप लगाए ।
उनले भने, अहिले हेर्नुस् महंगी बढेको छ, बैंकमा ऋण पाइँदैन, जनता मारमा छन् त्यसैले मुलुकको आर्थिक रूपान्तरण र मुलुकको समृद्धिका लागि नेकपा एमालेलाई मत दिनुस् ।’ रूपन्देही क्षेत्र नम्बर ५ लाई नमूना क्षेत्र बनाउने गरी योजनाबद्ध तरिकाले काम गर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij