२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

भौतिकसँगै मानवीय विकासलाई प्राथमिकता : पूर्वअर्थमन्त्री पौडेल

मंगलवार , कार्तिक २९, २०७९

बुटवल, २९ कात्तिक । 
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको इच्छा र अपेक्षाअनुसार नै काम गर्ने प्रतिवद्धता गर्दै मतदाताहरुले कुनै पनि संकोच नमान्न आग्रह गरे । 

स्थानीय तथा राष्ट्रिय आवश्यकतालाई बुझेर सोहीअनुसारको विकास पूर्वाधार निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए । संयुक्त मधेशी समाजले सोमबार बुटवलमा आयोजना गरेको बृहत मधेशी भेलालाई सम्बोधन गर्दै पौडेलले सबै जात–जाति धर्म समुदायलाई समेट्नेगरी भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकास आजको आवश्यकता रहेको औंल्याए । 

आगामी मंसिर ४ को निर्वाचनमा निसंकोच सूर्यमा मतदान गर्न आग्रह गर्दै एमालेले जनताको मतलाई खेर जान नदिने दाबी गरे । मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने क्षमता एमालेसँग भएको बताउँदै उनले सूर्यमा मतदान गरेर सही निर्णय गरिएछ भन्ने अनुभूति जनतलाई दिलाएरै छाड्ने प्रतिवद्धता दोहोर्याए । शिक्षा तथा स्वास्थ्यको विकास तथा सीपमूलक प्राविधिक शिक्षालयहरुको निर्माण गरी रोजगार तथा स्वरोजगार बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । 

लाखौं युवाहरु रोजगारका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताउँदै उनले मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्योग कलकारखानाको स्थापना, पर्यटन व्यवसायको प्रवद्र्धन तथा युवाहरुको सीप र क्षमताको विकास गरी मुलुकलाई आर्थिक समृद्धिको यात्रातर्फ लैजानुपर्ने उनले बताए । यसैगरी सबै जातजाति र धर्म समुदायप्रति राज्यले समान दृष्टिकोण राखेर उनीहरुको विकासमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।