२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमालेबाट जितेर कांग्रेस नेतालाई प्रधानमन्त्री बनाउनेहरु कम्युनिष्ट होइनन् : छविलाल

मंगलवार , कार्तिक २९, २०७९

रुपन्देही, २९ कात्तिक ।
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेको मतबाट विजयी भएर जनमतको अनाधर गर्दै अदालतमा गएर कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ती विसाउनेहरु अहिले खाँटी कम्युनिष्ट बनेको बताएका छन् । उनले आफ्नै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तर अहिले भने विधि र प्रक्रियाको कुरा गरेर नागरिकलाई छल गरिरहेको आरोप लगाए । उनले कम्युनिष्ट आन्दोलनलाई वीचमै छोडेर भाग्नेहरुले देशको विकास गर्छु भन्ने कुरा नागरिकलाई ढाँट्ने कामवाहेक केही नभएको आरोप लगाए ।

रुपन्देहीको देवदह नगरपालिका–५ मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलोको क्रममा भएको कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । रुपन्देही क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेता विश्वकर्माले समृद्ध राष्ट्र निर्माणको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावी गरे । उनले राष्ट्र र राष्ट्रियताको लागि मंसिर ४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताए । उनले रुपन्देहीको क्षेत्र नम्वर १ को विकासको लागि दीर्घकालीन योजना अगाडि सारेपनि गठबन्धन सरकारले बजेट कटौती गर्दा ओझेलमा परेको आरोप लगाए । 

नेता विश्वकर्माले एमाले नेतृत्वको सरकारले अगाडि सारेको स्वास्थ्य बिमा कार्यक्रम गठबन्धन सरकारले वेवास्ता गर्दा प्रभावकारी हुन नसकेको बताए । मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार गठन भएपछि सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने, नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका, एक अस्पतालको अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता गरेका छन् । उनले एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने र रोहिणी नदीलाई राष्ट्रिय योजनाको रुपमा अगाडि सारेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने योजना रहेको बताए । 

सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १ (१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिष चौधरीले यस क्षेत्रमा नेपाली काग्रेसले धेरै वर्ष जिते पनि केही विकास गर्न नसकेको बताए । उनले राष्ट्र र राष्ट्रियता बचाउनको लागि नेकपा एमाले, राप्रपा र जसपाबीच चुनावी तालमेल गरेको बताए ।