
मंगलवार , कार्तिक २९, २०७९
भैरहवा, २९ कात्तिक ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भ भट्टराईले निर्वाचन जित्दा एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले राप्रपाले संसदमा केपी शर्मा ओलीलाई मत दिने भएकाले त्यसका लागि रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरालाई जिताउनुपर्ने बताए ।
एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा सोमबार भैरहवामा आयोजित वृहत कार्यकर्ता भेला तथा प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै नेता भट्टराईले एमालेको नेतृत्वमा सरकार बनाउने मिसन भएकाले भैरहवाका धर्तीपुत्र बोहरालाई जिताउनुपर्ने आग्रह गरे ।
उनले भने, ‘यस क्षेत्रबाट बालकृष्ण खाँणलाई जिताए उहाँले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन मत हाल्नुहुन्नन, दीपक बोहरालाई नजिताए एमाले नेतृत्वमा सरकार नबन्न सक्छ, त्यसलै आजको आवश्यकता बनेको एमाले, राप्रपा र जसपाको तालमेललाई जिताउनु हो । ’उनले प्रदेशसभा सदस्य ३ (१) मा युवा नेता महेन्द्र यादव र ३ (२) तुल्सी प्रसाद चौधरीलाई जिताउन आग्रह गरे ।
एमाले नभएको भए संविधानसभाबाट संविधान बन्ने अवस्था थिएन, उनले भने, ‘संविधान बनेपश्चात यसको कार्यान्वयन हुन नदिन अनेक षडयन्त्र भए, तर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको भिजनका कारण संविधान कार्यान्वयन भएको छ । ’विकासको पर्यायवाची एमाले भएको उनले दावी गरे । एमालेले साढे ३ वर्ष मात्र सरकार चलाउन पाएका कारण केही काम गर्न बाँकी रहेको र ती काम अब एमाले नेतृत्वमा बन्ने सरकारले पूरा गर्ने उनको भनाइ छ ।
उनले भारतीय नाकाबन्दीविरुद्ध आवाज उठाउने, चुच्चे नक्सा जारी गर्ने काम ओलीकै अगुवाइमा भएकाले ओलीकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए । नेता भट्टराईले शेरबहादुर देउवा र प्रचण्डबाट मुलुकको विकास हुन नसक्ने बताए । बालकृष्ण खाँणले भारतीय सेनालाई कालापानीबाट हटाउनुपर्छ भन्न सक्नुहुन्छ भन्दै उनले प्रश्न गरे । एमाले नेतृत्वको सरकारले नै अतिक्रमित भूमि फिर्ता गराउने उनको भनाइ छ ।
उनले भने, ‘एमाले नेतृत्वमा भएका विकास निर्माण कार्यहरु नेपाली कांग्रेसले नेताहरुले उद्घाटन गरेका छन्, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा निर्माण भएको सभाहल केही उदाहरण हुन् । ’
त्यस्तै राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले सरकारले निष्पक्ष निर्वाचन गराउनुपर्ने बताए । उनले नेपाली जनताले राष्ट्रवादी नेता केपी ओलीलाई मन पराएकाले उहाँलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए । नेता थापाले राप्रपाले ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘मन्त्रीलाई हराउने मान्छे मन्त्री नै बन्नुपर्छ, ओली नेतृत्वको सरकारमा दीपक बोहराजी मन्त्री बन्नुहुन्छ ।’ उनले गठबन्धन सरकारले आलु जस्तै तक्मा बांडेको आरोप लगाए ।
जसपा केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मुलुकलाई निकास दिन तीनदलबीच तालमेल भएको बताए । उनले तीनदलबीच इमान्दारिता छ भन्ने कुुरा प्रमाणित गर्ने दिन मंसिर ४ गते भएको बताए । उनले यसअघि निर्वाचित प्रतिनिधिबाट के के विकासका काम भए भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताए । उनले भने, ‘प्रत्येक निर्वाचनमा फरक पार्टीबाट निर्वाचन लड्ने उम्मेदवारकोबारेमा यहाँहरुले राम्रोसँग बुझ्नुभएको छ ।’
एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले सतारुढ गठबन्धन एमालेसँग तर्सिएको बताए । एमालेले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट जित्ने उनले दावी गरे ।
एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउनुपर्ने बताए । उनले पार्टीको निर्णयअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, इञ्चार्ज चोपलाल आचार्यको स्वागत तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij