२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एकपटक अवसर दिनुस्, काम गरेर देखाउँछु : स्वतन्त्र उम्मेदवार मिश्र

बिहिवार , मंसिर १, २०७९

भैरहवा, १ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर ४ (२) प्रदेशसभा सदस्यका उम्मेदवार संजय कुमार मिश्रले जनताले एकपटक अवसर दिए काम गरेर देखाउने बताएका छन् । उनले विगतमा जनताले राजनीतिक दलका उम्मेदवारलाई निर्वाचित गरिसकेकाले अब स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे ।

बुधबार रुपन्देहीको कोटहीमाई–५ स्थित मझगावामा मिश्रले पत्रकार सम्मेलनको आयोजना गरी जनता, देश, किसानका लागि निरन्तर लागेकाले यसपटक आफूलाई जिताउन उनले आग्रह गरेका छन् । उनले भने, ‘निरन्तर देश र जनताको लागि संघर्ष गर्नेछु, एकपटक अवसर पाए जनतालाई अधिकार दिलाउने प्रतिवद्धता व्यक्त गर्दछु । ’

उनले आफू निर्वाचित भए रुपन्देही क्षेत्र नम्बर ४ (२) लाई नमूना क्षेत्र बनाउने दावी गरे । निर्वाचित भए मर्चवारमा इञ्जिनियरिङ कलेज स्थापना, मेडिकल कलेज (अस्पताल) बनाउने, छाडा चौपाय व्यवस्थापनका लागि गौशाला निर्माण, किसानलाई सिंचाई, मलखादको व्यवस्था गर्ने उनको भनाइ छ । विगतमा निर्वाचित भएका राजनीतिक दलबाट उम्मेदवार भएका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेकोले जनताले अब स्वतन्त्र उम्मेदवारलाई जिताउनुपर्ने मिश्रले बताए । आफू स्कुटर चुनाव चिन्ह लिएर चुनावी प्रचारप्रसारमा लागिपरेको र आफ्नो प्रतिष्पर्धा कसैसँग नभएको उनले बताए ।

आफू यसअघि जनमत पार्टी रहेर राजनीतिक क्षेत्रमा क्रियाशिल भए पनि उक्त पार्टीले मुद्दा र एजेण्डा बिर्सेकाले आफूले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । जनमत पार्टीमा परिवारवाद हावी भएको र उक्त पार्टीमा आबद्ध नेताहरुले आफ्ना परिवारका सदस्यलाई समानुपातिक उम्मेदवार बनाएको मिश्रले आरोप लगाए । उनले भने, ‘जनमत पार्टीलाई गरीबको पार्टी भनिन्छ तर अहिले पैसावालालाई टिकट दिइयो, पैसाले टिकट खरिद विक्री भयो ।’

आफूलाई विभिन्न राजनीतिक दलले टिकट दिने आश्वास दिए पनि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । उनले भने, ‘स्वतन्त्र उम्मेदवार निर्वाचित भए काम गरेर देखाउने कुरा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कामबाट प्रमाणित भएको छ । ’जनताले नेताहरुको गरेको कामको मुल्यांकन निर्वाचनमार्फत गर्ने उनको भनाइ छ ।