२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

गठबन्धनले बोलेको कुरा पूरा गर्छ : गृहमन्त्री खाँण

बिहिवार , मंसिर १, २०७९

भैरहवा, १ मंसिर ।
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकबाट गरीबी हटाउने पाँचदलीय गठबन्धनको संकल्प भएको बताएका छन् । उनले मुलुकलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा सम्पन्न गराएर आर्थिक समृद्धिको मार्गतर्फ अघि बढाए गरिबी पनि स्वतः हट्दै जाने जनाए । पाँचदलीय गठबन्धनले बिहीबार भैरहवामा आयोजना गरेको चुनावी सभामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य खाँणले भने, ‘गठबन्धनले बोलेको कुरा पूरा गर्छ, मुलुकलाई विकासको मार्गमा अघि बढाउँछ ।

उनले रोजगारी सिर्जना गर्दै सबै युवाहरुलाई स्वदेशमै बस्ने व्यवस्था गरिने दावी गरे । ‘निर्वाचनपछि गठबन्धनको सरकार बन्छ,’ उनले भने, ‘त्यो सरकारले जनताको अवस्था बदल्ने गरी विकास गर्छ । त्यसैले यसपटक विवेकपूर्ण तरिकाले मतदान गर्न जरुरी छ ।’ गठबन्धनको सरकार बनेमात्रै मुलुकको आर्थिक विकास सम्भव हुने उनले बताए ।

‘रुपन्देहीका व्यवसायिका समस्या बुझेको छु,’ उनले भने, ‘चर्को व्याजदरले मर्का परेको छ, चुनाव सकिएपछि व्याजदर घटाएर राहत दिइनेछ ।’ सरकारको निर्देशन नटेरे राष्ट्र बैंकका पदाधिकारीबिरुद्ध कडा कदम चाल्ने उनले चेतावनी दिए । जिल्लाको कृषि क्षेत्रको बिकासका लागि सेमलारको कर्साघाटमा दुई अर्ब लगानीमा कृषि थोक बजार निर्माण हुन लागेको खाँणले बताए । ‘उक्त बजारका लागि चालु बजेटमा रकम विनियोजन भइसकेको छ,’ उनले भने, ‘अब छिट्टै काम सुरु हुन्छ । कृषि बजारको निर्माणले रुपन्देही, कपिलवस्तु र नवलपरासीका किसानलाई लाभ मिल्नेछ ।’

उनले सदरमुकाम भैरहवालाई अन्तर्राष्ट्रिय सहरका रुपमा विकसित गरिने दोहोर्याए । त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर आर्थिक केन्द्र बनाइने बताएका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलसँगैं भैरहवामा स्थलमार्गबाट धेरै पर्यटक भित्रिने बेलहिया नाका रहेको छ । ‘यहाँ रहेको विशेष आर्थिक क्षेत्रको कार्यविधि परिवर्तन गरेर भए पनि क्षमता अनुसार सञ्चालनमा ल्याइनेछ,’ उनले भने, ‘नाका व्यवस्थित गर्न एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण अगाडि बढाइनेछ ।’

यसका साथै व्यवस्थित सहर बनाउन सिद्धार्थ चक्रपथको निर्माण अगाढि बढाइने उनले बताए । ‘खानेपानी, बिजुली, नाला र सडकको अवस्था सुधार गरिनेछ,’ उनले भने, ‘पर्यावरणमैत्री, शिक्षा र स्वास्थ्यको हवका रुपमा बिकास गरिनेछ ।’ यहाँको शैक्षिक अवस्था सुधार्न स्तरीय विद्यालय सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने र त्यसमा सरकारले लगानी साझेदारी गर्ने बताए । ‘भैरहवा आसपासका ओमसतिया र मायादेवी गाउँपालिकालाई सहरमा स्तरोन्नती गर्नेगरि बिकासमा योजना ल्याइनेछ,’ उनले भने, ‘ती गाउँपालिकामा सबैलाई बाटोघाटो, बिजुली र खानेपानीको सुविधा पुर्याइने छ ।’ भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालाको स्तरोन्नतीको काम तत्काल पूरा गरेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गरिने उनको भनाई थियो । ‘गाउँ–सहरको बिकासका लागि स्थानीय र प्रदेश सरकारसित समन्वय गरिनेछ,’ उनले भने, ‘मुलुकमा स्थिर बिकासका लागि गठबन्धन निर्माण भएको हो ।’ सांसद चुनिनका लागि मात्र यो गठबन्धन नभएको उनले बताए ।

रुपन्देही ३(१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष कुमार पाण्डेयले प्रतिनिधिसभा उम्मेदवार खाँणलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरे । क्षेत्र नम्बर ३ (२) का उम्मेदवार रामचन्द्र ढकालले लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई जिताउनु पर्ने बताए ।