२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

अध्यादेश फिर्ता लिन सत्तारुढ नेकपा स्थायी कमिटीको निर्देशन 

बुधवार , पौष १, २०७७

काठमाडौं, १ पुस ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद सम्बन्धिको अध्यादेश फिर्ता लिने निर्देशन गरेको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले अध्यादेश फिर्ताको निर्णयसँगै तत्काल संसद बैठकको माग गर्दै संसदबाटै सबै बिषयको टुंगो लगाउनुपर्नेमा जोड दिएको छ । 

यसका साथै राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिएको संसद बैठक सम्बन्धी आवेदनसमेत फिर्ता लिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिएका छन । ‘बैठकले सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश  र राष्ट्रपति समक्ष संसद बैठकका लागि तयारी गरिएको आवेदन पनि फिर्ता लिने निर्णय सर्वसम्मतिले गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले संचारकर्मीसँग कुरा गर्दै भने । 

प्रबक्ता श्रेष्ठका अनुसार बैठकमा नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको मंगलबार साँझ बसेको बैठकले नियुक्तिका लागि कुनै सिफारिस नगरेको जानकारी गराएका थिए । बैठक अगाडि प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेलले नेकपा विवाद समाधानका लागि गृहकार्य गरेको पनि उनले बताए । तर, नेताहरुबीच भएको अन्य सहमतिबारे भने प्रवक्ता श्रेष्ठले खुलाउन चाहेनन् । 

स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बोलाइएको छ । पुस ५ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक भने पुस १० गतेका लागि सार्ने निर्णय भएको छ ।