२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोट्रयाक्ट भैरहवाको प्राथमिकतामा स्वास्थ्य क्षेत्र

मंगलवार , श्रावण १३, २०७७

भैरहवा, १३ साउन । 
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोट्रयाक्ट क्लब अफ भैरहवाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी अगाडी बढेको छ । क्लबले स्वास्थ्य क्षेत्रमा काम गर्ने प्रयास अनुरुप कार्यक्रमहरु अघि सारेको क्लबका संस्थापक अध्यक्ष तथा रोटरी इन्टरनेशनल ३२९२ नेपाल एण्ड भुटान जोन–११ का तत्कालीन जेडआर आर हालका एडीटी प्रकाश शर्माले बताए ।

सोही अनुरुप क्लबले मंगलबार भैरहवास्थित भीम अस्पतालमा निःशुल्क हेपाटाइटीस परीक्षण शिविर सम्पन्न गरेको छ । विश्व हेपाटाइटिस दिवसको अवसर पारेर अस्पतालमा हेपाटाइटिस ‘सी’ परीक्षण शिविर आयोजना गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष सरिता रानाले बताइन् । आगामी दिनमा पनि भीम अस्पतालसहित अन्य स्वास्थ्य क्षेत्रमा काम अगाडी बढाउने रानाले जानकारी दिइन् । 

हेपाटाइटिस ‘सी’ परीक्षण शिविरमा बोल्दै प्रमुख अतिथि भीम अस्पतालका प्रमुख मेडिकल सुपरीन्टेण्डेण्ट डा. नविन दर्नालले हेपाटाइटिस ‘सी’ अन्य हेपाइटाइटिस भन्दा संवेदनशील भएको बताए । उनले यसलाई चाडैं पहिचान गर्नुपर्ने र उपचार गर्नेतर्फ लाग्नुपर्ने भएकोले रोट्रयाक्ट क्लबले आयोजना गरेको कार्यक्रम सराहनीय भएको बताए । मेसु डा. दर्नालले हाल अस्पतालमा सम्पूर्ण स्वास्थ्य सेवा सुचारु भएको जानकारी  दिए ।

IMG_8695.JPGरोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी इन्टरनेशनल ३३९२ नेपाल एण्ड भुटान रिजन ५ जोन २० एजी राजकुमार गुप्ताले भीम अस्पताल र अन्य स्वास्थ्य संस्थामा रोटरी र रोट्रयाक्ट लगानी गर्न तयार रहेको बताए । उनले अस्पतालसंग आगामी दिनमा पनि हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

अस्पतालका कन्सलटेन्ट फिजिसीयन डा. सुमित प्रजापति, ल्याब इञ्चार्ज आशिष श्रेष्ठले हेपाटाइटिस ‘सी’ अन्य हेपाटाइटिस भन्दा फरक रहेकोले समयमै पहिचान गर्न आवश्यक रहेको बताए । शिविरमा ४७ जनाको हेपाटाइटिस ‘सी’ परीक्षण गरिएको कार्यक्रम संयोजक तथा क्लबका सचिव करिम खानले जानकारी दिए ।