आइतवार , पौष १२, २०७७
काठमाडौं। संघिय संसद बिघटन पछि देखिएको राजनीतिक किचलो प्रदेश सरकारमा समेत देखिन थालेको छ। प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिषमा राष्ट्रपति बिद्यादेवि भण्डारीले प्रतिनिधि सभा संसद बिघटन गरेपछि देखिएको बिबादले प्रदेश सरकारलाई समेत संकटमा पार्न थालेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ। राई बिरुद्ध अबिश्वास प्रस्ताव दर्ता गराउदै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ।
आचार्य प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य हुन। सभामुखबाहेक प्रदेशसभामा नेकपाका ६६ सांसद छन्। तीमध्ये प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले ३७ जनाको हस्ताक्षर संसदीय दलका उपनेतालाई बुझाएका हुन्।
यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए।
प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
