
मंगलवार , पौष १४, २०७७
बुटवल। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताएका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताएका हुन। ‘काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउदैन। यदी गरयो भने त्यस्तो निर्णय काँग्रेसलाइ स्वीकार्य हुनेछैन’ नेता खाँणले भने।
पुर्वरक्षा मन्त्री समेत रहेका नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको टिप्पणी पनि गरे। संविधानको बर्खीलाप हुने गरी प्रम ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उनले राष्ट्रपति कार्यालयलाई हल्लाकाराको संज्ञा दिएका हुन। ‘राष्ट्रपति संग बिषय बिज्ञ सल्लाहकारको टिम छ तर कसैसंग सल्लाह गर्नु हुन्न। ओलीले गर्ने जनहित र संविधान बिपरितका अध्यादेश, सिफारिसको मसीसुक्न नपाउदै स्ट्याम्प लगाएर पठाइदिनु हुन्छ’ नेता खाँणले भने।
संविधानका कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाइ यथास्थितीमा संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाइ एकदलिय सर्बसत्ताबाद तर्फ लैजान संसद बिघटनको कदम चालेको आरोप लगाए। सरकारले गरेका भ्रष्टाचार लुकाउन पनि संसद बिघटन गरेको बताए। निर्वाचनको मिती तोकेर संसद बिघटन गरीएपनि प्रम ओलीको मानसीकता बैशाखमा चुनाव गर्नु नरहेको भन्दै उनले कोरोनाको बहानामा संकटकाल लगाएर निर्वाचन सार्न सक्ने खतरा औल्याए।
संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ सहि दिशा दिन नेपाली काँग्रेस सडकमा निस्कीएको भन्दै उनले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताए। पछिल्लो राजनीतिक अवस्था र प्रदेश सरकारहरुको फेरबदलका सम्बन्धमा उनले असंवैधानिक कदमको बिरोधमा रहेकाहरुसंगको सहकार्य पहिलो रोजाइ हुने बताए।
काँग्रेसलाइ सत्तामा जाने हतार नभएपनि लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर बस्न नमिल्ने भन्दै उनले परिस्थिती अनुरुपको सहकार्य हुन सक्ने तर्फ पनि संकेत गरे। लोकतन्त्र र संविधानको रक्षा गर्दै ट्रयाक बहिर गएकाहरुलाइ मुलधारमा ल्याउने दायित्व काँग्रेसको भएको र त्यसलाइ पुरा गर्ने बताए। कार्यक्रम युनियनका सभापती रेखा भुसालको अध्यक्षतामा र संचिव श्यामशंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij