images

बिहिवार, बैशाख १३ गते २०८१

बृटिश साम्राज्यवाद परास्त भएको ऐतिहासिक जीतगढी किल्ला

बृटिश साम्राज्यवाद परास्त भएको ऐतिहासिक जीतगढी किल्ला

images
images
images
बुधवार, माघ ७ २०७७
बुधवार, माघ ७ २०७७
  • बृटिश साम्राज्यवाद परास्त भएको ऐतिहासिक जीतगढी किल्ला

    भारतलाई गुलाम बनाइ शासन गरिरहेको तत्कालिन अंग्रेजी शासक ईष्ट ईण्डिया कम्पनीले नेपालमा पनि आँखा गाडिरहेको थियो। बुटवल र स्यूराज कब्जा गर्ने उद्देश्यका साथ आक्रमणमा उत्रिएको जनरल उडको नेतृत्वमा आएको अंग्रेज फौजलाई जीतगढीमा परास्त गरी नेपाली फौजले गौरवको गाथा कोरेको थियो। तत्कालिन नेपाली फौजका कर्नेल उजिरसिंह थापा नेतृत्वमा चतुरबुद्धी र पराक्रमको समेत प्रयोग गरेर अंग्रेज फौजलाई धुलो चटाउन सफल भएको थियो। सो दृष्टान्त घटनाको सम्झना र ती नेपाली वीर वीरंगनाहरुको सम्मानमा पाल्पामा भगवती जात्रा निकाल्ने चलन चलाइयो। तर स्वयं इतिहास कोर्न सफल जीतगढी किल्ला भने आज अलपत्र जस्तै छ।

    images

    समस्त नेपाल र नेपालीको लागि गौरवमय इतिहास बोकेको बुटवलस्थित जीतगढी किल्ला अंग्रेजसंगको युद्धमा नेपालले विजय हासिल गरेको एक मात्र ऐतिहासिक किल्ला हो। नेपाल—अंग्रेज युद्धमा गौरवको गाथा बोकेको यो जीतगढी किल्ला प्राचिन बुटौली अर्थात वर्तमान बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ र २ मा छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बुटवल–कोहलपुर खण्डको तिनाउ नदीको पश्चिम किनारमा पक्कीपुल नजिक दक्षिणपट्टी रहेको यो किल्ला पाल्पाली सेन वंशिय राजाहरुको स्मारकहरुमध्ये एक मानिन्छ। यही किल्लाबाट सन् १८१४–१५ को नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेको तत्कालीन नेपाली सेनाले मेजर जनरल जोन सुलिभान उड्को नेतृत्वमा आएको आधुनिक हातहतियारले सुसज्जित अंग्रेज फौजलाई पराजित गरेको थियो।

    Jitgadhi-killa-ma-KP-oli-Butwal-21042019094850.jpg

    तत्कालिन नेपाली फौजको चतुर बुद्धि र पराक्रमको प्रयोग गरिएको ऐतिहासिक एवं महत्वपूर्ण विजयको प्रतिक यो जीतगढी किल्लाले नेपालीको अदम्य शाहस, पौरख, विरता र देशभक्तिलाई सदा चित्रित गरिरहेको छ। सन् १८१४ मा नेपालको तत्कालीन कम्पनी सरकारसंग भएको सीमा विवादमध्ये रौतहटका २२ ठाँउ र पाल्पा राज्य अन्र्तगत स्यूराज र बुटवलका सिमानाका समस्याहरु अत्यन्त गम्भिर एवं जटिल थिए। पश्चिम क्षेत्रको स्यूराज र बुटवलमा नेपाल र भारतमा आधिपत्य जमाएर बसेको बेलायतको ईष्ट ईण्डिया कम्पनी सरकारको आ–आफ्नो भूभाग हो भन्ने दुवै पक्षको दावी थियो। 

    उक्त समस्या समाधानका लागि भारतको वेतियामा दुवै पक्षबीच घनिभुत वार्ता भयो तर सफल हुन सकेन। लगत्तै अंग्रेज गभर्नर लर्ड हेस्टिङ्गसले २५ दिनभित्र रौटहटका २२ ठाँउ र स्यूराज बुटवलको स्वामीत्व त्याग्न र आफ्ना सेना फिर्ता लैजान नेपाल सरकारलाई चेतावनी पत्र पठाए। चेतावनी अनुसार नेपाल पक्षले काम नगरेको खण्डमा उनले नेपालमा सैनिक हस्तक्षेप गर्ने आदेश सँगसँगै लिइसकेका थिए। तर यता नेपाल सरकारले २५ दिनभित्र जवाफ दिएन, परिणाम स्वरुप २२ अप्रिल १८१४ मा ३ पल्टन अंग्रेज सेना स्यूराज र बुटवल क्षेत्र प्रवेश गरी युद्ध नगरिकन ती भूभागहरु आफनो कब्जामा लिएका थिए।

    DSC_2828.JPG

    अन्तत् अंग्रेज फौजले बुटवलमा र स्यूराजमा २ स्थान आफ्नो कायम गरी फर्केका थिए। केही समयपछि २९ मेई १८१४ मा नेपाली सेनाले उक्त भूभागमा आफ्नो आधिपत्य पुनः कायम गरे। भनिन्छ यस हमलामा अंग्रेजका एक दरोगा सहित १८ जना पुलिस मारिएका थिए। तत् पश्चगात अंग्रेज गर्भनर लर्ड हेस्टिङ्गसले १ नोभेम्बर १८१४ मा नेपालविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा गरेका थिए। बुटवलको बाटो भइ पाल्पा प्रवेश गर्न १ हजार अंग्रेज र ३ हजार भन्दा बढी भारतीय देशी सिपाईहरुसहित मेजर जनरल उड खटिएका थिए। १५ नोभेम्वर १८१४ दिन अगाडी बढ्ने आदेश पाएको यो फौज डिसेम्बरमा मात्र अगाडी बढ्यो।

    उनले आफनो सबै पल्टनका २६ कम्पनी र ११ वटा आधुनिक गनको मद्दतले बुटवलको जीतगढी कब्जा गर्ने निधो गरे। त्यसपछि पाल्पा हान्ने उनको दाउ थियो। ३ जनवरी १८१५ दिन मेजर जनरल उर्डको नेतृत्वमा नौतुनवाबाट अंग्रेज सेना उत्तर नेपालतर्फ बढ्यो। बुटवल पुग्नु भन्दा अगावै तिनाउ नदी पारगरी पश्चिम र त्यसपछि उत्तरतर्फ लागे। उनीहरु कल्लाको नजिक पुगेको जस्तो लागेर किल्लाको रेकी गर्न एउटा सानो डप्फ त्यसतर्फ पठाए। रेकी गरी फर्कने क्रममा किल्ला भित्रबाट पत्तो पाई भित्रबाट बाहिर गोली चल्न थाल्यो, बाहिरबाट पनि प्रतिउत्तरमा गोली चल्न सुरु भयो। 

    त्यसपछि केहीबेर दुवै तर्फ गोली हानाहान हुन थाल्यो। किल्ला तर्फबाट निरन्तरको प्रहारका कारण अंग्रेजी फौज त्यहाँबाट अगाडी बढ्न सकेन केही पछि हटे। त्यसपछि सबै फौज एक ठाउँमा जम्मा भएपछि त्यसलाई २ भागमा विभाजित गरी एउटा दलको नेतृत्व कमाण्डर क्रोकर र अर्को दलको नेतृत्व स्वयं मेजर जनरल उडले गर्दै अगाडी मात्र के बढेका थिए किल्लाबाट फेरी गोली प्रहार हुन थाल्यो, भिषण युद्ध सुरु भयो। सो युद्धमा कप्तान क्रोकरको टोलीको आक्रमणबाट सरदार सूर्य थापाले विरगति प्राप्त गरेका थिए। यसबाट नेपाली फौज केही हतोत्साहित भएको थियो।

    यतिञ्जेल नुवाकोट किल्ला समालेर बसेका कर्णेल उजिरसिंह थापाले नेपाली फौज अफ्ठ्यारोमा परेको पत्तो पाई जीतगढी झरे। सबुज र गुरुबक्स पल्टनका बाँकी फौजका साथ कर्णेल उजिरसिंह नुवाकोटवाट ओर्ली जितगढी पुगेर तत्काल उक्त लडाईको कमान आफनो हातमा लिए। दुवैपक्षबीच घमासान युद्ध चलिरहेको थियो, दुश्मन फौज अंग्रेज सेनातर्फ बृगेड मैजर हैट र इञ्जिनियर लेफ्टिेण्ट मोरिसन नराम्ररी घाइते भएका थिए। लडाई जुन ढंगले भइरहेको थियो, त्यसले मेजर जनरल उडलाई निराश बनायो। अन्तत् उनले युद्ध परित्याग गर्ने फैसला गरे र पछि हटे उनी बाँकी सेनासहित २० जनवरी १९१५ का दिन सुरजपुर, खुर्द लौटन हँुदै गोरखपुर फर्के। मेजर जनरल उड फेरी जीतगढी आक्रमण गर्ने प्रयत्नमा लागि रहे। ६ अप्रिल १८१५ का दिन उनी आफ्ना सेनासहित लौटन आइपुगे, उनको फौज तिनाउ नदीको पूर्वी किनारबाट अगाडी बढ्यो। उत्तरतर्फ बढ्दा बढ्दै अंग्रेज फौज हालको खस्यौली बजार पुग्यो।

    त्यतिबेला अंग्रेजहरुसंग २ वटा १८ राउण्डर आधुनिक गन र ४ वटा मोर्टारहरु थिए। अंग्रेज फौजको तुलनामा नेपाली फौजको हातहतियार परम्परागत र नगन्य थिया भन्दा हुन्छ। अब अंगे्रजहरुले तिनाउ नदी पारी हालको खस्यौलीवाट गोलावारी सुरु गरे, नेपाली फौजले सामान्य प्रतिरोध मात्र गर्यो। त्यसपछि परिस्थिति केहीबेर शान्त देखियो, अंग्रेजहरुले बुटवल र गढी किल्ला खाली भएको र नेपालीहरु भागेको वा बाँच्न लुकेको महसुस गरे। जनरल उर्डले तिनाउ नदी पार गरी तत्कालीन बटौली र गढी किल्ला कब्जा गर्ने आदेश दिए। किल्ला कब्जा गर्न अघि बढेको अगं्रेज सेना नदीकोमध्ये भागमा पुग्दा नगुग्दै गढी भित्रबाट अचानक भएंकर गोली चल्यो। 

    नेपाल तर्फबाट अप्रत्यासित रुपले आक्रमण भएपछि अग्रेंज फौजले अगाडी बढ्ने हिम्मत गर्न सकेन। अन्तत् मेजर जनरल उड पुनः यूद्ध परित्याग गर्न बाध्य भए। यही आक्रमणमा फुलबारीमा रहेको मणिमुकुन्द सेनको शितकालिन दरवार अंग्रेजहरुको गोलावारीले ध्वस्त भएको थियो। अंगे्रजहरु हरतरहले सबल र शक्तिशाली हुँदाहुदै बुटवल र जीतगढीको वास्तविकता थाहा पाउन नसक्नु, किल्ला अभेद्य देखिनु र सानो स्थानका लागि धेरैको ज्यानको बाजी लगाउनु पनि लडाँईमा युक्तिसंगत नदेखिनु एवं स्वयं मेजर जनरल उडमा हिम्मतको कमीका कारणले अन्तिम प्रयास पनि तुहिएको थियो भन्ने विश्वास छ।

    इतिहासकारहरुले अंग्रेजहरु आफै तर्सेर नभागेको भए परिणाम बेग्लै हुने थियो भन्ने अनुमान गरेता पनि अल्पसंख्यामा रहेको तत्कालिन नेपाली फौजले सिमित हातहतियार र गोलावारुदका आधारमा उच्च मनोबल, अदम्य साहस र विरताका साथ चतुर बुद्धि र पराक्रम प्रदर्शन गरी कर्णेल उजिर सिंह थापाको नेतृत्वमा लडाइ लडेर नेपालीहरुको आत्मविश्वास, रणकौशल, चार्तुय र बहादुरीको अतुलनीय दृष्टान्त पेश गरेको छ। देशको सार्वभौमसत्ता, मान मर्यादा र प्रतिष्ठा अक्षुण राख्ने जीतगढीको यो विजय इतिहासमा स्वर्ण अक्षरले अंकित सदासर्वदा रहने छ। 

    वर्तमान बुटवल उपमहानगरनगरपालिका वडा नम्बर २ मा आंशिक भग्नावशेष अवस्थामा रहेको जीतगढी किल्लाको २०५५÷०५६ सालमा पुरातत्व बिभागले सामान्य मात्रामा उत्खनन् कार्य सुरु गरिएको थियो। त्यसपछि २०७० माघ ८ गतेबाट बुटवल नगरपालिकाको अनुरोधमा यसको पुनः उत्खनन् कार्य पुरात्व विभागले सुरु गरेको हो। जीतगढी किल्लाबारे निम्न कथन रहेको विश्वास छ।

    १. नेपाली वीर सेनाले अंग्रेजी साम्राज्यवादलाई परास्त गरेको यो प्रख्यात जीतगढी किल्ला १६ औं शताब्दी तिर सेन वंशीय (सम्भवतः पृथ्वीपाल सेन) पाल्पाली राजाहरुको पालामा निर्माण भएको हुन सक्छ भन्ने अनुमान छ।

    २. प्रारम्भमा यो गढी किल्ला तत्कालिन बटौली बजारलाई छोप्ने गरी नै पहाडको एक छेउदेखि अर्कौ छेउसम्म पूर्व पश्चिम निकै लामो थियो कालान्तरमा तिनाउ नदीको कटानले र बढ्दो शहरीकरणको प्रभावले गर्दा हाल यसको धेरै सानो भाग २०५ फिट लम्बाई र ८ फिट चौडाई मात्र बाँकी रहेको छ।

    ३. किल्लाको पूर्व पश्चिमबाट उत्तर खण्डको पर्खालसगै गढी किल्लासँग सम्बन्धित सुरुङ्गमा प्रवेश गर्ने ७–७ वटा खुड्किला भएको २ वटा सिंढी, तल्लो भागमा प्लास्टरसहितको भूँई, बरण्डा माथि छुने छपनी समेत फेला परेको थियो । यसका अतिरिक्त सिंढीको बीच भागमा समेत छ पनि फेला परेको थियो। यसका अतिरिक्त सिढीको बीच भागमा पूर्व र पश्चिमतर्फ प्रवेश गर्ने प्रवेशमार्ग भेटिएको थियो। उत्तरतर्पmको प्रवेश मार्ग सम्भवत: हातहतियार खरखजाना राख्ने ठूलो भण्डार कोठा हुन सक्ने, दक्षिणतर्फको प्रवेशद्वार सुरुङ्ग भित्र जाने प्रवेशद्वार हुनसक्ने अनुमान गर्न सकिन्छ। 

    बुटवलको जीतगढी किल्लाको ऐतिहासिक महत्व वर्णानातित छ। यसले हामी नेपालीहरुलाई एकतामा आबद्ध हुन, देशका लागि आफनो जीवनको आहुती दिन एवं देशभक्तिको निरवच्छिन पाठ सिकाइरहेको छ भने स्वतन्त्रता र सार्वभौमसत्ता अच्छुण राख्न, देशभक्त नेपालीहरु जुनसुकै मुल्य चुकाउन तम्तयार रहेको सन्देश विश्वलाई दिइरहेको छ। यस्तो स्वतन्त्रता, देशप्रेम र बलिदानको शिक्षा प्रदान गर्ने यो थलोको अवलोकन गरेर देशप्रेमको भावनालाई आत्मसाथ गरौं। यही हाम्रो अपिल छ। यसको संरक्षण, विकास र प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा हामी सबैले आ—आफ्नो ठाउँबाट सक्दो योगदान पुर्याउँ। यही नै ति इतिहास रचयिता बलीदानी नेपाली फौजको समुचित सम्मान हुनेछ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij