images

आइतवार, बैशाख १६ गते २०८१

आखिर किन कुखुरापालक किसान विस्थापित हुँदैछन् ?

आखिर किन कुखुरापालक किसान विस्थापित हुँदैछन् ?

images
images
images
बिहिवार, श्रावण १८ २०८०
बिहिवार, श्रावण १८ २०८०
  • आखिर किन कुखुरापालक किसान विस्थापित हुँदैछन् ?

    जनावर वा पंक्षी आफैमा प्रकृतिका एक सुन्दर वस्तुहरु हुन जसले प्रकृतिको जीवन चक्रलाई व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । त्यसमा पनि घरपालुवा जनावर त झन हेर्नलायक र मायालु स्वभावका पनि हुन्छन् । घरपालुवा जनावरहरुलाई मानिसले विभिन्न कारणले पालनपोषण गर्ने र त्यसलाई व्यवसायीकरण गर्ने गरेको हुन्छन् । जसमध्ये कुखुरा पनि एक घरपालुवा जनावर वा पंक्षीको रुप हो । यसलाई विशेषतः मासु या अण्डा उत्पादन व्यवसायसँग जोडिएर हेरिने गरिन्छ । पशुपंक्षीपालन मानव इतिहाससँगै रहेको तापनि सुरुसुरुमा सामान्य घरपरिवारको आवश्यकता परिपूर्ति गर्नको लागि मात्र पालिने गरिएतापनि हाल आएर यो व्यवसायिक रुपमा एउटा नगद आम्दानी गर्ने राम्रो स्रोतको समेत रहेको पाइन्छ ।

    images

    पशुपंक्षीमध्ये पनि कुखुरापालन व्यवसाय सजिलो र सहज तरिकाले सानो, मध्यम र ठूलो स्तरमा समेत गर्न सकिने र छोटो समयमा राम्रो आम्दानी हुने भएकाले पनि यसलाई व्यवसायिक उत्पादनको रुपमा सञ्चालन गर्न थालिएको देखिन्छ । कुखुरापालन आफैमा एउटा व्यवसायमा नभएर यसमा अन्य धेरै व्यवसायहरुसमेत निर्भर हुने गरेका छन् जस्तो कि दाना उत्पादक, चल्ला उत्पादक, विभिन्न पोल्ट्री मेडिसिन उत्पादनकहरु, मकै उत्पादक किसानदेखि लिएर अन्य धेरै क्षेत्रहरु यही व्यवसायमा निर्भर रहेका हुन्छन् । यो व्यवसायले स्वरोजगारलाई समेत टेवा पु¥याई नेपालको अर्थतन्त्रलाई केही हदसम्म भए पनि महत्वपूर्ण रुपमा योगदान रहेको पाइन्छ । हाल नेपाललाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउन सफल यो कुखुरापालन व्यवसाय, नेपालमा सरकारी क्षेत्र भन्दा पनि पूर्ण रुपले निजी क्षेत्रको मात्र लगानी भएको पाइन्छ । यो व्यवसाय सञ्चालनका लागि न त धेरै ठूलो प्राविधिक दक्षताको अवाश्यक पर्ने न त कुनै ठूलो लगानीकै आवश्यक पर्ने र अन्य पशुपंक्षीपालन भन्दा कुखुरापालन अति सहज र सरल तरिकाले उत्पादन गर्न सकिने मात्र नभएर यसको मासुलाई मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिहरुले समेत सेवन गर्न सकिने सेतो मासु भएका कारण पनि यो व्यवसाय आफैमा राम्रो, सहज, सरल र झण्झटयुक्त रहेको छ ।

    हुन त कुखुरापालन आफैमा एउटा ठूलो चुनौति पनि हो किनभने मौसम परिवर्तन हँदा यसमा देखिने विभिन्न खाले रोगहरुले कहिलेकाही एकपटकमा धेरै ठुलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ भने कहिले दानाको मूल्यवृद्धि, औषधीहरुको मूल्यवृद्धि, पानीको अशुद्धता र खुला सीमाका कारण भारतबाट आयात हुने कुखुराको निर्वाध रुपमा ओसारपसार र ठूला व्यवसायीहरुको एकाधिकार (मोनोपोली) बजारका कारण साना किसानहरु घाटामा गएको पनि हामी पाउँदछौ । अझ तराईको क्षेत्रका किसानको समस्या त झन बढी देखिन्छ । गर्मीको समयमा अध्यधिक मात्रामा गर्मी र जाडोको समयमा अत्यधिक हुस्सु र कुहिरोका कारण कुखुराहरु फस्टाउन सकेका हुँदैनन र विभिन्न रोगहरु लाग्ने र कुखुरा मर्ने जसले गर्दा किसानहरु बिचल्ली भएका अवस्था पनि देखिन्छ । कुखुरा उमेर अनुसारको तौल नआउनु र बजारमा बिचौलियाका कारण राम्रो मूल्य नपाउनु पनि हाल किसानहरुका खोरहरु खाली देखिन खालेका छन् । अझ खुला सीमा नाकाका कारण भारतमा उत्पादित कुखुरा तथा अण्डाहरु नेपालको सीमा क्षेत्रमा मात्र नभएर देशका विभिन्न मुख्य शहरहरु सम्म पुर्‍याइन्छ र विक्रीवितरण गरिन्छ । यसका लागि कुनै नियमन गर्ने निकाय छ जस्तो पनि देखिदैन, कहीकतै २/४ सय कुखुरा र २/४ पेटी अण्डा नष्ट गरेको समाचारबाहेक अन्य महत्वपूर्ण कुनै पनि कदम सरकार वा स्थानीय तहबाट चालेको पाइएको छैन । सीमा क्षेत्रमा रकेको केही किसानहरुको खोर भाडामा लिने रातारात भारतबाट कुखुरा ल्याउने र कुनै भेटेरिनरी डाक्टरबाट सर्टिफिकेट हस्ताक्षर गराई काठमाण्डौ, पोखरा लगायतका शहरहरुसम्म पुर्‍याउने गिरोहहरुको समूह समेत सक्रिय भएको यदाकदा सुन्न पाइन्छ । के यो गर्न पाइन्छ ? यिनीहरुलाई रोक्ने कुनै माध्यम छैन ? संघीय, प्रदेश र स्थानीय सरकारले जिम्मेवारी लिनुपर्दैन ? किसानका हकका लागि खोलिएका संघ–संस्थाहरुले यसको जिम्मेवारी लिनु पर्दैन ? यी र यस्ता प्रश्नहरुको उत्तर खोज्ने बेला आएको छ । यदि यी र यस्ता समस्याका बारेमा छलफल गरी निकास ननिकालिने हो र नेपालका कुखुरापालकहरु पलायन हुँदै जाने हो भने जसरी नेपाल अहिले कुखुराको मासु र अण्डामा आत्मनिर्भर रहेको अवस्थामा अबका केही वर्षभित्र नै पुनः कुखुराका मासु र अण्डामा परनिर्भर हुनुपर्ने अवस्था नआउला भन्न सकिदैन । प्रत्यक्ष रुपमा व्यक्ति वा परिवारलाई रोजगार स्वरोजगार बनाउँदै नेपालको आर्थिक अवस्थालाई समेत ठूलो टेवा पुर्‍याउने यो व्यवसायको पछिल्लो अवस्था हेर्दा दयनीय अवस्था रहेको देखिन्छ । यी र यस्ता चुनौतिका साथ साथै कुखुराका मुख्य चुनौति भनेको त्यसमा लाग्ने रोग पनि हो ।

    विशेष गरी रानीखेत, गम्बारो, बर्डफ्लु, सी आर डी जस्ता रोगहरुका कारण पनि किसानहरु धेरै मर्कामा परेको देखिन्छ, यी रोगहरु लाग्ने विविध कारणहरु हुन्छन्, केही प्राविधिक त्रुटी, खोर व्यवस्थापनको कमीका कारण पनि यसले कुखुराहरु मर्ने र झौक्क्राउने गर्दछन् जसका कारणले गर्दा ठूलो संख्यामा एकैपटक कुखुराहरु मर्ने उमेरअनुसारको तौल नआउने भनेको मूल्य नपाउने र किसानहरु घाटामा जाने अवस्था सिर्जना हुन्छ र अर्को कारण भनेको किसानहरुमा प्रयाप्त प्राविधिक ज्ञानका कमी, खोरको व्यवस्थापनमा हेलचेक्¥याई, दाना पानि दिने भाँडाहरुको सरसफाईको कमी, सुरक्षाका उपायहरु जस्तो खोरमा चल्लाको लागि आवश्यक पर्ने भुस, भुसको चिस्यान, चुनाको व्यवस्था, खोरमा जाँदा आउदा लगाउने वस्त्रहरु आदिका कारण पनि कुखुरा विभिन्न रोगहरुको संक्रमण भइ ठूलो नोक्सानी हुन जाने कुरालाई नकार्न सकिदैन । कुखुरापालन एउटा सरल र सस्तो अनि छोटो समयमा नै धेरै आम्दानी गर्ने व्यवसाय भएका कारण विशेष खालको विषयवस्तु समेटेर किसानहरुका लागि खोर निर्माण प्रक्रियादेखि विभिन्न प्राविधिक ज्ञानसहितको कार्यक्रमहरु सञ्चालन गर्न सकेमा केही हदसम्म यो कुखुरापालन व्यवसायबाट किसानहरु पलायन हुने अवस्थालाई सहज बनाउन सकिन्छ ।

    अन्त्यमा, कुखुरापालन व्यवसायलाई वा कुखुरापालक किसानलाई सहज र सरल तरिकाबाट आम्दानीको स्रोतको रुपमा रहेको नेपालको पोल्ट्री व्यवसाय देशभित्र मात्र नभई देश बाहिरसमेत निर्यात गर्न सक्ने बनाउनका लागि यस क्षेत्रमा रहेका दाना उत्पादकहरु, कुखुरापालक व्यवसायी, मासु अण्डा विक्री गर्ने व्यवसायका क्षेत्रमा लागेका हरेकले एकजुट भएर नेपाल भारत खुला सीमा नाकाको फाइदा उठाउँदै खुला रुपमा हुने चल्ला, जिउँदो कुखुरा, मासु र अण्डा तस्करीलाई पूर्ण रुपमा रोक लगाउने र किसानहरुलाई उचित परामर्श दिई विचौलियाका चंगुलबाट हटाउन सकेमा नेपालको पोल्ट्री व्यवसाय जुन अहिले धरासायी हुन पुगेको छ त्यसमा ठूलो राहत हुने थियो र नेपाल पोल्ट्रीको क्षेत्रमा आत्मनिर्भर मात्र नभएर निर्यातसमेत गर्ने सक्ने अवस्था सिर्जना गर्न सकिन्थ्यो जसका कारणले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान हुने र धरैलाई स्वरोजगार गराउन सकिने वातावरण बन्न पुग्नेमा पूर्ण विश्वास गर्न सकिन्थ्यो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij