images

सोमवार, बैशाख १७ गते २०८१

पर्यटनलाई मुख्य एजेण्डा बनाउन व्यवसायीको माग

पर्यटनलाई मुख्य एजेण्डा बनाउन व्यवसायीको माग

images
images
images
शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • पर्यटनलाई मुख्य एजेण्डा बनाउन व्यवसायीको माग

    रुपन्देही, १८ फागुन । 
    पर्यटनलाई तीनै तहका सरकारले आर्थिक समृद्धिको मुख्य एजेण्डा बनाएर जानुपर्ने रुपन्देही र इलामका पर्यटन व्यवसायीहरुले माग गरेका छन् । उनीहरुले नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक र सांस्कृतिक विविधता, हावापानी लगायत कारणले अन्य क्षेत्र भन्दा पर्यटनमा ठूलो संख्यामा विदेशी पर्यटकलाई भ्रमणमा आकर्षित गर्न सकिने र त्यसबाट पर्याप्त विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना हुने बताए ।  

    images

    अन्य क्षेत्र भन्दा तुलनात्मक लाभका दृष्टिले पर्यटन नै नेपालका लागि समृद्धिको सजिलो माध्यम भएको र यसबाट सरकार र व्यवसायी दुवैले छिटो लाभ लिन सक्ने उनीहरुको तर्क छ ।

    इलामको पर्यटन प्रवद्र्धनका लागि रुपन्देही आएको टोलीलाई नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले तिलोत्तमाको एसआर होटेलमा स्वागत गर्न आयोजित कार्यक्रममा दुवै जिल्लाका होटेल तथा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने देशको अर्थतन्त्रमा छिटै परिवर्तन आउने बताए ।

    तत्कालका लागि अरु देशका भन्दा भारतका पर्यटक नै नेपालको पर्यटनका मुख्य आधार भएकाले भारतीय पर्यटकलाई सहज तरिकाले आउन, घुम्न र चाहे जति पैसा खर्च गर्न पाउनुपर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने दुवै ठाउका पर्यटन व्यवसायीले माग गरे ।

    एनएचए लुम्बिनीका अध्यक्ष प्रणिव बहादुर पाठकले सरकारले नीतिगत सुधार गरी पर्यटकमैत्री बनाइदिनुपर्ने र व्यवसायीले पनि नौला प्रडक्ट र गुणस्तरीय सेवा दिन सक्नुपर्ने बताए । इस्लाम धर्मावलम्बीको मक्का मदिना जस्तै बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्धमार्गी जीवनमा एकपटक जानैपर्ने थलोको रुपमा ब्राण्डिङ गर्न सरकारले अन्तर्राष्ट्रिय जगतमा पहल गर्नुपर्ने अध्यक्ष पाठकले बताए ।

    सरकारको मात्रै मुख ताकेर नहुने भएकाले आफूहरुले ‘प्रोमोटिङ इच अदर’ को नारा अनुसार देशका प्रमुख पर्यटकीय स्थानका व्यवसायीहरुबीच सहकार्य गरेर कनेक्टिभिटी गरेर पर्यटकको बसाई अवधि लम्ब्याउने अभियानमा रहेको बताए । अध्यक्ष पाठकले एनएचएको एउटा वैठक इलाममा आयोजना गर्ने प्रतिवद्धता समेत जनाए ।

    एनएचएका उपाध्यक्ष दिलिप गौचनले नेपालमा पर्यटनबाट व्यवसायी र देशले विदेशी मुद्रा आर्जन गर्न सक्ने र ठूलो संख्यामा रोजगारी सिर्जना हुने प्रचूर सम्भावना भएको तर सरकारले अहिलेसम्म पर्यटनलाई मुख्य एजेण्डा नबनाउँदा पर्यटन क्षेत्र पछि परेको बताए ।

    कार्यक्रममा होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले इलाम पनि पर्यटकीय दृष्टिले धेरै राम्रो सम्भावना बोकेको जिल्ला भए पनि कन्यामबाहेक अरु थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रसम्म पर्यटक पुग्न नसकेको बताए ।

    इलाममा भारत, भुटान र चीन गरी तीन देशको भूगोल एकसाथ हेर्न सकिने सन्तकपुर हिमाल, नेपालको पुरानो चिया प्रशोधन उद्योग, किरातहरुको आस्थाको धरोहर माङसेबुङ, पाण्डवहरु बसेको माइ पोखरी, अन्तु हिमाल लगायत पर्यटकीय स्थान रहेका जानकारी गराए ।

    कार्यक्रममा एनएचएका महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सह–कोषाध्यक्ष प्रणदा दीक्षित, कार्यकारिणी सदस्य टेकनाथ बस्याल, इलामको टोलीमा आएका नेपाली कांग्रेसका नेता राजेन्द्र शर्मा, नेकपा (एमाले)का नेता ठाकुर नारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ इलामकी सदस्य शारदा पराजुलीले एक अर्को ठाउँका व्यवसायीबीच भेटघाट, भ्रमण र सहकार्यले अनुभव आदानप्रदानसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij