२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

गौतमबुद्ध विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री साउद

शनिवार , फाल्गुण १९, २०८०

  • 607
    Shares
  • 607
    Shares
  • भैरहवा, १९ फागुन । 
    परराष्ट्रमन्त्री एनपी साउदले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । उनले विमानस्थललाई अन्तर्राष्ट्रिय उडानबाट सुचारु तथा चलायमान बनाउन विभिन्न मुलुकसँग कुटनीतिक पहल भइरहेको बताए ।  

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६५ औं वार्षिक साधारणसभालाई शनिबार भैरहवामा सम्बोधन गर्दै मन्त्री साउदले यसका लागि भारत लगायतका देशसँग कुराकानी अगाडि बढाएको बताए ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य देशसँग पनि हवाइ उडानका लागि कुराकानी भइरहेको उनको भनाइ छ ।

    विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पहल गरिरहेको उनले बताए । मन्त्री साउदले नेपालको ठूलो जनसंख्या कृषिमा संलग्न भएर पनि कृषि उपजमा नेपाल आत्मनिर्भर बन्न नसकेर ठूलो परिमाणमा आयात गर्नुपरेकाले व्यवसायिक कृषि उत्पादनमा लाग्न र कृषि उद्योग सञ्चालन गर्न उनले नीजि क्षेत्रलाई आग्रह गरे ।

    उनले विदेशमा रहेका नेपाली राजदुतावासमार्फत् नेपाली उत्पादनको बजार अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न र विदेशी प्रविधि नेपालमा भित्राउन पहल गरिएको बताए ।  नेपालमा पर्यटनको विकासका लागि रामायण सर्किट, बुद्ध सर्किट र काशी–पशुपतिनाथ–मुक्तिनाथलाई जोडेर पर्यटकीय रुटको विकास गर्ने काम भइहेको उनको भनाइ छ । 

    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बेलहिया नाका हुँदै धेरै पर्यटक आउने र पर्यटकका सवारीसाधनलाई धेरै ठाउँमा चेकजाँच गर्दा नकारात्मक सन्देश जाने बताए । उनले एकजना पर्यटकले दुःख पाए त्यो पर्यटकले आफ्नो देश फर्केपछि दुःख पाएको कुरा एक सय जनालाई भन्ने भएकाले चेकजाँचलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । चेकजाँचका नाममा पर्यटकलाई दुःख दिन नहुने उनले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अनुत्पादक क्षेत्रमा लगानी नगर्न राज्यलाई आग्रह गरे।  

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विदेश जानका लागि पासपोर्ट बनाउँदा १५ हजार तिरेमा भोलीपल्टै पाइने तर स्वदेशमा नै उद्योग व्यवसाय गर्न खोजेमा अनावश्यक दुःख र झन्झट बेहोर्नुपर्ने परिपाटी रहेको बताए ।

    पत्रकार न्यौपाने सम्मानित

    ६५ औं वार्षिक साधारण सभाको अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघले पत्रकार प्रकाश न्यौपानेलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । लुम्बिनी प्रेस क्लबका सचिव समेत रहेका न्यौपानेलाई नगदसहित पुरस्कृत तथा सम्मानित गरिएको हो ।

    429585522_7389909151048741_3519466944370837261_n.jpg

    उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनमा समाचारको माध्यमबाट सहयोग पु्र्याएको भन्दै संघले उनलाई नगदसहित सम्मान गरेको महासचिव कृष्ण प्रसाद घिमिरेले बताए ।