
सोमवार , फाल्गुण २१, २०८०
काठमाडौं, २१ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताएका छन् ।
सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताएका हुन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गरे । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन–२०८४ बनेको उनको भनाई थियो ।
अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गरे । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाई थियो । अध्यक्ष ओलीले मजदुरहरुको न्युनतम ज्याला पाउने कुरा समेत कानूनमा व्यवस्था गरिएको उल्लेख गर्दै उनले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताए ।
अध्यक्ष ओलीले शहीदहरुका अधुरा सपना पूरा गर्नका लागि आफूहरुले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई अघि बढाएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij