२०८३, आश्विन १३ गते

Sep 29 2026 | २०८३, आश्विन १३ गते

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक

मंगलवार , आश्विन १३, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • काठमाडौँ, १३ असोज । प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।

    गणतन्त्रका योद्धा रामराजाप्रसाद सिंहको स्मृतिमा स्थापना हुन लागेको यस प्रतिष्ठानले मधेस प्रदेशको स्वास्थ्य सेवा र शिक्षामा गुणात्मक परिवर्तन ल्याउने अपेक्षासहित सांसदहरूले यसलाई समयसापेक्ष कदम भनेका छन् । छलफलमा भाग लिँदै सांसदहरूले यस परियोजनालाई मधेसको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमका रूपमा अथ्र्याएका छन् ।

    सांसद रमेशकुमार मल्लले यसलाई भवन वा संरचनाको विकासमा मात्र सिमित नराखी दक्ष जनशक्ति उत्पादन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गजेन्द्रनारायण सिंह अस्पताललाई प्रतिष्ठानको अस्पतालका रूपमा सञ्चालन गर्दा हुने व्यवस्थापनका चुनौतीतर्फ सचेत गराउँदै बर्दिबास मेडिकल कलेजको कामलाई पनि सँगसँगै अगाडि बढाउन आग्रह गर्नुभयो । 

    सांसद आशा झाले यस प्रतिष्ठानको स्थापनाले मधेस र कोशी प्रदेशका साथै सीमावर्ती भारतीय नागरिकका लागि समेत स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । करिव ३० अर्ब लागत अनुमान गरिएको यो परियोजनाले दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्था बन्ने लक्ष्य राखेको भन्दै उहाँले विधेयक छिटो पारित गर्न माग गर्नुभयो । 

    सांसद युवराज दुलालले संघीयताको मर्म अनुरूप प्रादेशिक सन्तुलन कायम गर्न यस्ता विशिष्टीकृत स्वास्थ्य संस्थाको आवश्यकता रहेको औँल्याउनु भयो । उहाँले प्राज्ञिक स्वायत्तता र न्याम्स जस्ता संस्थाहरूमा देखिएको दोहोरो शासनको समस्याबाट मुक्त गराउँदै प्रतिष्ठानलाई प्रशासनिक चुस्तता दिनुपर्ने सुझाव दिनुभयो । 

    सांसद प्रमिला कुमारीले प्रतिष्ठान स्थापनाको उद्देश्य सकारात्मक भएपनि उत्पादित स्वास्थ्यकर्मीलाई स्वदेशमै टिकाउनु ठूलो चुनौती रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘दक्ष जनशक्ति विदेश पलायन हुने समस्या रोक्न स्वास्थ्य शिक्षा र रोजगारीबीचको तादाम्यता मिलाउनुपर्छ ।’

    छलफलमा सहभागी सबैजसो सांसदहरूले प्रतिष्ठानलाई गुणस्तरीय स्वास्थ्य सेवा र अनुसन्धानको वास्तविक थलो बनाउन जोड दिँदै विधेयकको सैद्धान्तिक पक्षमा समर्थन जनाएका छन् ।