
मंगलवार , फाल्गुण २२, २०८०
पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमवार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताए ।
मंगलवार उनले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउनु नहुने बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताए ।
उनले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले काँग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभइ आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको बताए । उनले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए । उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ ओली नै रहेको दाबी गरे ।
उनले केपी ओली र दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताए । —न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij