२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नवज्योति स्कूलको सञ्चालक समितिलाई काम नगर्न उञ्च अदालत पाटनको आदेश

मंगलवार , फाल्गुण २२, २०८०

बुटवल, २२ फागुन ।

उच्च अदालत पाटनको वाणिज्य इजलासले रुपन्देहीको तिलोत्तमा नगरपालिका चार नम्बरस्थित नवज्योति इङ्गलिस बोर्डिङ्ग स्कुल रुपन्देही प्रा.लि.को गत माघ २६ मा गठन भएको सञ्चालक समितिलाई काम नगर्न नगराउन अन्तरकालिन आदेश जारी गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर समेतलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा उच्च अदालत पाटनका न्यायाधिश मुनेन्द्रप्रसाद अवस्थी र धु्रवराज नन्दको इजलासले आइतवार सो आदेश दिएको हो ।

आदेशमा रिट निवेदक लक्ष्मण ज्ञवालीको नवज्योति स्कूलमा ३५.३७ प्रतिशत शेयर रहेको र निजको सहमति बिना माघ २६ गते सञ्चालक समिति गठन गरिएकोमा निजको शेयर हदसम्मको दायित्वमा असर पर्न सक्ने देखिएको भन्दै सुविधा सन्तुलनको दृष्टिकोणले सञ्चालक समितिको गठन तथा निर्णय मुद्दाको टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन आदेश दिएको उल्लेख छ ।

गत माघ २६ मा स्कूलका शेयरधनी झबिन्द्र प्रसाद कंडेल समेतले सञ्चालक समिती गठन गरेका थिए ।

गत वर्ष पनि शेयरधनी लक्ष्मण ज्ञवालीलाई अनुपस्थित देखाई रितै नपुर्याएर साधारण सभा गरिएको भन्दै अदालतले बदर गरिदिएको थियो ।