
बिहिवार , फाल्गुण २४, २०८०
काठमाडौं, २४ फागुन । नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्ने बताए । उनले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको स्पष्ट पारेका छन् । उनले जनता र राष्ट्रका समस्याहरुलाई केन्द्रमा राखेर समाधान गर्ने उद्देश्यसहित सहयात्रा प्रारम्भ भएको बताए ।
उनले विगतका अनुभवहरुबाट शिक्षा लिएर सहयात्रा आरम्भ भएको भन्दै कुनै दुर्घटना नहुने बताए । उनले गठबन्धनले सहयात्राको औचित्य स्थापित हुने विश्वास व्यक्त गरे ।
उनले भने – ‘इतिहास कहिल्यैपनि सेलरोटी जस्तो घुम्दैन । इतिहास स्प्रिङजस्तो घुम्छ । लाग्दो हो यहाँहरुलाई कि हिजो जे भयो अब केही समयपछि हामी त्यस्तै गर्छौं भनेर ।
त्यो आशा नगरे हुन्छ । म भन्न चाहान्छु कि, यो सहयात्रा, अहिले सुरु भएको नयाँ सहयात्रा यसले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ । यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन । कुनै अवसरको निम्ति गरिएको सहयात्रा होइन ।
जनताका, राष्ट्रका समस्याहरुलाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यद्वारा आरम्भ भएको सहयात्रा हो । र यो फेरि विगतका अनुभवहरुबाट यथेष्ट शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो । यो कुनै दुर्घटनामा पर्छ कि भनेर त्यस खालको आशंका नगरे हुन्छ ।
दुर्घटनामा परोस् भनेर अपेक्षा नगरे हुन्छ । मलाई विश्वास छ यो सहयात्राले बाँकी कार्यकाल पुरा गर्नेछ । जनता र राष्ट्रका पक्षमा केही नयाँ माइलस्टोन गाडेर भिजिबल प्रोग्रेसका साथमा यो सहयात्राको औचित्य स्थापित हुनेछ भनेर विश्वास व्यक्त गर्न चाहन्छु ।’
सांसद पौडेलले गठबन्धन परिवर्तन हुनुलाई स्वभाविक संसदीय अभ्यासको रुपमा लिनुपर्ने बताए । उनले यो प्रक्रिया स्वभाविक संसदीय अभ्यास र परम्परा रहेको बताए । उनले संवैधानिक प्रवन्ध अनुरुप नै कदम चालिएको भन्दै सोही अनुरुप बुझ्न आग्रह गरेका छन् ।
उनले भने – ‘सहकार्यका निम्ति कुनै दलले बहुमत प्राप्त गर्न सकेन । त्यस्तो अवस्थामा संविधानले नै प्रवन्ध गरेको छ । दलहरुका बीचमा सहकार्य हुन्छ । दलहरु मिलेर सरकार निर्माण गर्छन् ।
दलहरु मिलेर सरकार सञ्चालन गर्छन् । जब दलहरु मिलेर सरकार बनाउँछन् भनेदेखि दलहरु मिलेर सरकार परिवर्तन गर्न सक्छन् कि सक्दैनन् ? हाम्रो संविधानले त्यो प्रवन्ध गरेको छ कि छैन ? त्यसका निम्ति अनुमति दिएको छ कि छैन ? त्यो बाटो हामीले हिड्न पाउँछौ कि पाउँदैनौँ ? कि त सहकार्य गर्न पाइन्छ ।
गठबन्धन बनाउन पाइन्छ । तर केवल नेपाली काँग्रेसँग मात्रै भनेर लेख्नुपर्छ नि त संविधानमा । संविधानले प्रवन्ध गरेको सहकार्यलाई त्यस रुपमा बुझ्न चाहेका हौँ ? त्यस रुपमा व्याख्या गर्न चाहेका हौँ ? त्यसकारण म आग्रह गर्न चाहान्छु यो परिवर्तनलाई एउटा ओठे अभिव्यक्तिको अर्थमा होइन । यो परिवर्तनलाई हामीले साधारण रुपमा लिनुपर्छ ।
स्वभाविक रुपमा लिनुपर्दछ र स्वभाविक संसदीय अभ्यासको रुपमा यसलाई लिनुपर्दछ । स्वभाविक संसदीय अभ्यास र परम्परा हो भनेर यसलाई हामीले लिनुपर्छ ।
त्यही रुपमा ग्रहण गर्नुपर्छ । जुन सहयात्रा आरम्भ भएको छ, जुन सहमती कायम भएको छ । त्यो सहमतीको जगमा उभिएर राजनतिक यात्रा कायम भएको छ ।
यसलाई स्वभाविक, सहज रुपमा लिनको निम्ति, संवैधानिक प्रवन्ध अन्तर्गत चालिएको कदमको रुपमा लिनको निम्ति म हार्दिकतापूर्वक आग्रह गर्न चाहान्छु ।’
उनले एमाले सम्पूर्ण रुपले सरकारको साथमा रहने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij