२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

काँग्रेसलाई प्रधानमन्त्रीको जवाफ– आफूसँग हुँदा इमान, अर्कोसँग जाने बित्तिकै बेइमान हुँदैन

बिहिवार , फाल्गुण २४, २०८०

  • 931
    Shares
  • 931
    Shares
  • काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिक बेइमानी नगरेको बताएका छन् । 

    बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गरे ।

    उनले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताए । उनले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताए ।

    उनले आफुसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने बताए । उनले संसदमा भएका दलहरुका बीचमा अविश्वास, आशंका र घृणा नगरी राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नुपर्ने बताए । 

    उनले भने – ‘कसैलाई मेरो कदम अस्थिर लाग्नसक्छ । भर्खरै मैले समाचारमा पढेँ, नेपाली काँग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाले भन्ने पनि मैले पढेँ ।

    मेरो राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले मैले यो कदम सोचि, विचारेर नै चालेको छु । मैले भनिसकेको छु ।

    यसलाई इमान र बेइमानको भन्दा राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित होला । म संसदमा भएका कुनैपनि दलसँग अविश्वास, आशंका र घृणा होइन हामी फेरीपनि सँगै राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नु छ ।

    आफुसँग हुँदा इमान, अर्कोसँग हुँदा जानेबित्तिकै बेइमान भन्ने हुँदैन । यो राजनीतिक परिस्थिति, राजनीतिक मुद्दामा निर्भर रहने कुरा हो । त्यसकारण म सोझो भाषामा भन्न चाहन्छु राजनीतिमा केही आशंका पैदा भए पछाडी यो अवस्था आएकै हो ।

    नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको अहिले मलाई साथ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको पनि अब सरकारमा उल्लेखनीय प्रतिनिधित्व रहेको छ ।

    सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उनिहरुसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतिपूर्ण बाटो उनिहरुले रोजेका छन् ।

    मेरो नेतृत्वप्रति उनिहरुको भरोसालाई एउटा ठूलो जिम्मेवारी ठानेको छु ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफुप्रतिको जिम्मेवारी ठानेको बताए ।