
आइतवार , फाल्गुण २७, २०८०
काठमाडौं, २७ फागुन । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताएका छन् ।
आईतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरियताको मतलव नहुने बताए ।
उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए । उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरे ।
उनले भने, ‘आवश्यक सर्जरीका लागि, बिरामीहरुको लामो लाइन लाग्ने जुन अवस्था रहेको छ । समय लिनका लागि, एपोइमेण्ट लिनका लागि त्यसलाई सहज बनाउने र त्यसलाई अनलाइन वा डिजिटल प्रविधिमार्फत घरैबाट पनि अपोइमेण्ट लिनसक्ने र लामो भीड नहोस् र समयमा सबैले उपचार र सेवा पाओस् । त्यसका लागि आवश्यक गर्नुपर्ने कार्यहरु गर्ने नै हो ।
स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रयास पहिला पनि गरेको थिएँ, राम्रो रहेको फिडब्याक आएको छ । अब त्यो भन्दा अझ अघि बढाउन सकिन्छ, बढाउनुपर्छ । नेपालको स्वास्थ्यमन्त्रालय अन्तर्गतका अस्पतालहरु, उपचारकेन्द्रहरु बनाउन सकिन्छ र त्यसलाई विकास गर्दै अघि जाने हो ।
स्वास्थ्यको उपचार सहज रुपमा सबैको पहुँचमा कसरी पु¥याउने नै अहिलेको ठूलो चुनौति रहेको छ । अन्य प्राविधिक कार्यहरु त्यसकै लागि हो । जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने हो । म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन ।’
उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो पहिलो दायित्व रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij