
आइतवार , फाल्गुण २७, २०८०
बुटवल, २७ फागुन ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेकपा (एमाले) बुटवल उपमहानगर कमिटी, रुपन्देहीले अभियान थालेको छ । पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३ सय संघ–संस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको हो ।
संघ–सस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र संघ–सस्थाबीचको अन्तरसम्वन्ध, सुशासन कायम गर्ने तरिका र नेतृत्वमा हुनुपर्ने गुणलगायतका विषयमा प्रशिक्षित गर्दै अभियान थालिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।
वित्तीय अनुशासन कसरी कायम गर्ने, भ्रष्टाचार नियन्त्रणमा संघ–संस्थाहरुले कसरी प्रभावकारी काम गर्ने लगायतका विषयमा संघ–संस्थाका पदाधिकारीलाई लक्षित गर्दै प्रशिक्षित गरिएको ज्ञवालीले बताए ।
२ दिनसम्म चलेको प्रशिक्षणमा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डीआर घिमिरे, लेखक माधव पौडेल, पार्टी स्कुल विभागका मुकुन्द ज्ञवाली, वरिष्ठ उद्घोषक गोपाल अधिकारीलगायतले वित्तीय अनुशासन र सुशासन, संघ–संस्थामा प्रभावकारी नेतृत्व स्थापित, पार्टी र संघ–संस्थाबीचको अन्तरसम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व, प्रभावकारीता र कार्यकुशलता, विधिको शासन, सहभागीता, निष्पक्ष र समावेशीकरण, अनुशासन जस्ता विषयमा संघ–संस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिइएको थियो । सुदृढ संस्थागत सुशासनले संस्थाप्रतिको विश्वास र साख अभिवृद्धि बढाइ समग्रमा संस्थाको सफलता सुनिश्चित गर्ने भएकाले पार्टीले यस्तो अभियान चलाएको उनले बताए ।
एमाले बुटवल उपमहानगर कमिटीले बुटवल नगर कमिटीका इञ्चार्ज, नगर सदस्य, वडाका पदाधिकारीलाई पनि वित्तीय अनुशासनका लागि प्रशिक्षण दिने योजना बनाएको नगर कमिटी अध्यक्ष ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij