२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पहिलोपटकमै राष्ट्रिय पार्टी बन्यौं, अब सीट संख्या बढाउनुपर्छ : डा. सिके राउत

सोमवार , फाल्गुण २८, २०८०

भैरहवा, २८ फागुन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले चुनावमा सहभागी भएको पहिलोपटकै जनमत राष्ट्रिय पार्टी बन्न सफल भएको र अब सीट तथा मतको संख्यालाई बढाउनुपर्ने बताएका छन् । उनले पहिलोपटकमै जनमत राष्ट्रिय पार्टी बन्नु जनताको माया र स्नेहको परिणाम भएको बताए ।

पार्टीको लुम्बिनी प्रदेश समिति कार्यालयको सोमबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अध्यक्ष राउतले जनताको माया अझै नरोकिएको बताए । उनले भने, ‘सबै जनतालाई धन्यवाद छ कि हामीलाई राष्ट्रिय पार्टी बनाउनुभयो । संसदमा हामी के बोल्छौं र हामी कुन विचार प्रस्तुत गछौं भनेर अहिले हामीलाई जनता र पुरै देशले हेरिरहेको छ ।  हामीले त्यो जिम्मेवारीबोध गरेका छौं ।’ पार्टीले संगठन विस्तार अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेता राउतले लुम्बिनी प्रदेशमा १ जना सांसद् जता गए उतै सरकार बन्ने अवस्था रहेको भन्दै एउटा मात्र सीटको धेरै महत्व रहेको धारणा राखे । उनले भने, ‘एक जना माननीयज्यू जता लाग्नुहुन्छ, त्यही पक्षको नेतृत्वमा सरकार बन्ने अवस्था छ । हामीले पनि ३ वटा सीट भन्दा ४ वटा जितेको भए कति फरक पर्दथ्यो । पार्टीले कलष्टर, सीट संख्या र मत बढाउनुपर्छ । अनि मात्र केही उपलब्धीहरु संस्थागत गर्न सक्छौं ।’

Ck 3.jpg

कुन पार्टीले कति सीट ल्यायो भन्ने लोकतान्त्रिक व्यवस्था र अंकगणितको खेलमा धेरै महत्व राख्ने उनले बताए । कसको कति सीट छ भन्ने कुराले धेरै कुरा निर्धारण गर्ने उनले उल्लेख गरे । आवाज उठाएर मात्र नहुने भएकाले कि त संख्या धेरै वा आन्दोलनबाट उपलब्धी प्राप्त गर्न सकिने उनको भनाइ छ । उनले ४० वर्ष अघि रहेका विभिन्न समस्याहरु अहिले पनि यथावत रहेको बताए ।

मुलुकमा देखिएका समस्या समाधानका लागि सामाजिक लोकतन्त्र ल्याउनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय पूँजी निर्माण गरेर मात्र विकास गर्न र रोजगारी सिर्जना गर्न सकिने उनले बताए । ‘समाजवाद उन्मुख भनेर मात्र हुँदैन । शिक्षा, स्वास्थ्य राज्यले हेर्ने तर, उद्योग धन्दा निजी लगानीमा सञ्चालन गरेर विदेशिएका युवाहरुलाई स्वदेशमै फर्काउन सकिन्छ, ’उनले भने ।

मुलुकको व्यवस्थामा परिवर्तन आए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन नसकेको राउतले बताए ।

Ck 4.jpg

त्यस्तै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा जनमत पार्टीका युवा नेता चन्द्रकेश गुप्ता (सि.के.)ले गलत कामको समर्थन गर्न सरकारमा नगएको स्पष्ट पारे । उनले सरकारमा रहँदा पनि गलत कामको विरोध गर्नुपर्ने बताए ।

जनमत पार्टी लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र गुप्ताले प्रदेशलाई पूर्ण अधिकार दिन कांग्रेस, एमालेलगायतका दलले नचाहेको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझीले सरकार, सदन र सडकबाट जनताको हकअधिकारका लडेको बताइन् ।

प्रदेश सभा सदस्य गीता गुरुङले जनमत पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउने बताइन् ।

आदिवासी जनजाति जनमत संघका केन्द्रीय अध्यक्ष कैलाश गुरुङले जनमत पार्टीले मात्र मुलुकलाई निकास दिन सक्ने दावी गरे ।

जनमत पार्टीका युवा नेता शिवचरण केवटको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले खबरपात्रोलाई बताए ।