२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काँग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

शुक्रवार , चैत्र २, २०८०

काठमाण्डाै, २ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन्। उनले लामिछाने आफूमाथि प्रश्न बोकेर गृहमन्त्री हुनु नहुने बताए । उनले प्रधानमन्त्रीले पनि  प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु नहुने बताए । सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताए ।

अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उनले प्रश्न गरे । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाई छ । 

उनले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाए । उनले प्रश्नै प्रश्नले घेरिएका मान्छेको बिचमा बसेर प्रधानमन्त्रीले सुशासन कायम गर्न नसक्ने बताए ।