२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मकै पोल्ने र सालको पात बेच्नेलाई बुटवल उपमहानगरपालिकाको सहयोग

शुक्रवार , चैत्र २, २०८०

बुटवल, २ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई सम्मानसहित रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरका रुपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरुलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताए । उनले नगरले दिएको रकमले महिलाहरुले आफ्नो पेशा व्यवसायलाई अरु स्तरीय बनाउनका लागि सहयोग हुने बताए । उनले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने उद्देश्य लिएको र सोहीअनुसार काम गर्दै गएको बताए । उनले बुटवललाई देशमै उत्कृष्ट सहर बनाउने योजनाका साथ नीति कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याएको बताउँदै नगरबासीको साथले मात्रै बुटवललाई समृद्ध बनाउन सकिने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुले आफ्नो पेशा र व्यवसायलाई थप प्रभावकारी बनाउन मदत हुने गरी सहयोग गरेको बताइन् ।