२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

शैक्षिक सुधारका लागि अभिभावकको घरदैलोमै अन्तरक्रिया

शुक्रवार , चैत्र २, २०८०

  • 973
    Shares
  • 973
    Shares
  • परासी, २ चैत । 
    शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ गेर्मीस्थित राजनारायण माध्यमिक विद्यालयले अभिभावकसँग घरदैलोमै अन्तरक्रिया गरेको छ । शिक्षक र विद्यालय व्यवस्थापन समितिको समूह बनाएर विद्यालयको कार्यक्षेत्र अन्तरगतका गाउँहरुमा गई अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं विद्यार्थीको आचारण सुधारका लागि अभिभावकको घरदैलोमै पुगेर अन्तरक्रिया गरिएको विद्यालयका प्रधानाध्यापक रेशम कंडेलले बताए । शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समिति सबैको सामूहिक प्रयास आवश्यक रहेकोले यो अभियान चलाइएको उनको भनाइ छ ।

    विद्यालयले दुईवटा समूह बनाएर शुक्रबार विद्यालयको सेवा क्षेत्रहरु पाल्ही, गेर्मी, गेरमा, सिसवा, चमनटोला, विष्णुपुरा लगायतका अभिभावकसँग प्रत्यक्ष भेटघाट गरी अन्तरक्रिया गरेको हो । घरदैलोमै पुग्दा विद्यार्थीको पढाईको अवस्था, विद्यार्थी र अभिभावकको पारिवारिक पृष्ठभूमि, पढाई सुधारमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा गहिराईबाट बुझ्न सहज हुनुका साथै अभिभावकमा पनि अपनत्वको महसुस हुने भएकोले यो अभियान निकै प्रभावकारी भएको प्रधानाध्यापक कंडेलले जानकारी दिए ।

    अभियानको क्रममा अभिभावकबाट आएका सुझावलाई विद्यालयले कार्यान्वयन गर्दै जाने र विद्यालयको तर्फबाट अभिभावकलाई दिइएका सुझाव पनि अभिभावकले ग्रहण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु प्रसाद गुप्ताले बताए । राजनारायण मावि गेरमी अहिले नमूना विद्यालयको रुपमा अघि बढिरहेकोले शैक्षिक गुणस्तर सुधार गर्न आफूहरु लागिपरेको अध्यक्ष गुप्ताको भनाइ छ ।

    शैक्षिक सुधार वृद्धि गर्न अभिभावक र विद्यालयको संयुक्त पहलबाट मात्र सम्भव भएकोले अभिभावकले विद्यार्थी र विद्यालयको अवस्था जानकारी लिनुपर्ने र अभिभावकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद गौडले बताए । अभिभावकले छोराछोरीलाई विद्यालय पठाएर मात्र जिम्मेवारी पूरा नहुने भन्दै उनले समय समयमा विद्यालय पुगेर विद्यार्थीको पढाईको स्तर, आचरण बुझ्ने तथा विद्यालयको गतिविधिको विषयमा पनि निगरानी गरी सुझाव–सल्लाह दिन सके विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण टेवा पुग्ने गौडको विश्वास छ ।

    पाल्हीनन्दन–५ का वडाअध्यक्ष दयाशंकर त्रिपाठीले विद्यालयले शुरु गरेको घरदैलो अभियानले शैक्षिक सुधारमा सहयोग पुग्ने विश्वास गरेको बताए । शुक्रबार वडा कार्यालयमै आयोजित अन्तरक्रियामा बोल्दै वडाअध्यक्ष त्रिपाठीले शैक्षिक सुधारको लागि विद्यालयले थालेको अभियानमा वडा कार्यालयको पूर्ण सहयोग रहने बताए ।