
शनिवार , चैत्र ३, २०८०
काठमाण्डाै, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुले बौद्धिकताको माध्यामबाट पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठालाई स्थापित गराएको बताएका छन् ।
शनिवार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित ‘प्रा. सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकर्पण गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले डा. सुवेदीको बौद्धिकताबाट नेपालका सबै राजनीतिक दलहरु प्रभावित रहेको समेत बताए । उनले विस्तृत शान्ति सम्झौताको बेला पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र आफूले डा. सुवेदीको कानून क्षेत्रको विज्ञताबाट लाभ लिएको बताए । प्रधानमन्त्री दाहालले नेपालको संविधान बनाउन, भारतसँग भएका सन्धि, सम्झौताका लागि प्रस्ताव तयार पार्न र संसदबाट एमसीसी पास गराउन पनि आफूले रोजेको मध्यमार्गी बाटो पनि डा. सुवेदीको विज्ञताको प्रतिफल भएको बताए ।
प्रधानमन्त्री दाहालले नेपालमा हितमा हुने कुनैपनि अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्नुपर्दा उनको सुझाव धेरै उपयोगी हुने बताए । उनले ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकले युवा पुस्तालाई आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij