२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

तिलोत्तमा व्यापार संघले बनायो ३ वर्षे कार्ययोजना

शनिवार , चैत्र ३, २०८०

  • 940
    Shares
  • 940
    Shares
  • तिलोत्तमा, ३ चैत ।

    आगामी ३ वर्षका लागि कार्ययोजना निर्माण गर्दै तिलोत्तमा व्यापार संघको दुईदिने कार्यशाला गोष्ठी पाल्पामा सम्पन्न भएको छ ।

    कार्यशालाले व्यापक रुपमा सदस्यता विस्तार गर्ने र ३ हजार सदस्य बनाउने, उद्योगी–व्यवसायी सदस्यहरुको समस्या बुझ्ने र समाधानका निम्ति घरदैलो गर्ने, संघमा आबद्ध सदस्यहरुको १ लाख बराबरको दुर्घटना बीमा गरिदिने, उद्योगी–व्यवसायी सदस्यहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै व्यवसायीहरुलाई नेतृत्व विकास, व्यवसायीमुखी तालिम गोष्ठी गराई दक्ष बनाउने,. तिलोत्तमा महोत्सव–२०८१ भव्य रुपमा सम्पन्न गर्ने, छिमेकी समकक्षी संघ–संस्थासँग भगिनी सम्बन्ध कायम गर्ने, ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा कार्यलाई नगरपालिकासँग सहकार्य गरी अगाडि बढाउने, सचिवालय भवन निर्माण गर्न जग्गा प्राप्तीका लागि सबै पक्षसँग छलफल एवं संवाद गरी प्राप्त जग्गामा सचिवालय भवन बनाउने निर्णय पनि कार्यशालाले गरेको छ ।

    उद्योगी–व्यवसायी सदस्यहरुलाई परिचयपत्र वितरण गर्न, वस्तुगत समितिहरुलाई पूर्णता दिइ व्यापक परिचालन गर्ने, अस्पतालसँग सहकार्य गरी उपचारमा छुटको व्यवस्था मिलाउने, विगतमा गर्दै आएका कार्यक्रमहरुलाई आवश्यकता अनुसार निरन्तरता दिने, बैंक तथा वित्तीय संस्थासँग उद्योगी–व्यवसायी सदस्यहरुलाई वित्तीय सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, महिला उद्यमीहरुका लागि तालिम गोष्ठी गर्ने लगायतका योजना पनि कार्यशालाले तय गरेको छ । कार्यशालाले बनाएका योजना कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।

    कार्यशालामा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले सहजीकरण गरेका थिए । कार्यशाला समापनका अवसरमा संघका संस्थापक अध्यक्ष जेपी कंडेल, वरिष्ठ उपाध्यक्ष विष्णु बहादुर बराल, महासचिव चेत नारायण विश्वकर्मा, कार्यक्रम संयोजक तारा प्रसाद नेपाललगायतले कार्ययोजनालाई कार्यान्वयन गरी संघलाई सुदृढ व्यवसायिक संस्थाको रुपमा विकास गर्नुपर्ने बताएका थिए ।