२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीलाई आर्थिक तथा साँस्कृतिक राजधानी घोषणा गर्न सांसद् घिमिरेको माग

सोमवार , चैत्र ५, २०८०

काठमाडौं, ५ चैत ।

प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीलाई आर्थिक तथा साँस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेका हुन् । मुलुककै मध्यभाग,  भारतसँगको व्यापारिक नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लगानीमैत्री वातावरण, बढ्दो आर्थिक क्रियाकलाप, गौतमबुद्धको जन्मस्थल लगायत विकासको पर्याप्त सम्भावना रहेकोले रुपन्देहीलाई आर्थिक तथा साँस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेको सांसद् घिमिरेले बताए ।

सोमबार संसद् बैठकको शून्य समयमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् घिमिरेले अव्यवस्थित बसोबासीहरुले लालपूर्जा प्राप्त गर्दा तिर्नुपर्ने राजस्व अत्याधिक बढी भएकोले त्यसलाई आधा घटाउन समेत माग गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भूगोल समेत पर्ने रुपन्देही क्षेत्र नम्बर ५ विकासको दृष्टिकोणले राज्यबाट सधै उपेक्षित रहेको बताउँदै सांसद् घिमिरेले वर्षौं भइसक्दा पनि लुम्बिनी गुरुयोजना सम्पन्न नभएकोले आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका नेता घिमिरेले लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन क्षेत्र नम्बर ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा एकीकृत विकासका काम हुनुपर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा रामापुर-लुम्बिनी-कक्रहवा, फायरलाइन-रुद्रपुर-लोण्डिहवा-मंगलपुर-लुम्बिनी-कक्रहवा, लोण्डिहवा-जोगडा-मोगलहवा-मसिना-शिवलहवा-कक्रहवा, बाँसगढी-लौसा-कञ्चन, पच्चिस बगिया-लोण्डिहवा, सूर्यपुरा-मजदिया, रामापुर-लौधापानी लगायत महत्वपूर्ण सडकहरुको स्तरोन्नती, पुलहरुको निर्माणको साथैं कञ्चन सिंचाई, दानापुर र गैडहवा तालमा पर्यटन पूर्वाधार निर्माणका लागि यथोचित बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।