
मंगलवार , चैत्र ६, २०८०
तिलोत्तमा, ६ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मधुवनटोलका ज्येष्ठ नागरिकलाई वित्तीय साक्षरता, स्वास्थ्य शिविर र बीमा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नगरपालिकाका स्वास्थ्यकर्मी तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले गीता मन्दिरमा ४९ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको वडाअध्यक्ष गणेश पाठकले बताए ।
तिलोत्तमा–६ मा रहेको आनन्दवन स्वास्थ्य चौकीका प्रमुख ज्ञानु पौडेल, स्वास्थ्य अधिकृत हुमनाथ पाण्डे, यमकला डुम्रे, राम प्रसाद चुंदाली, लुम्बिनी प्रादेशिक अस्पतालका डा. प्रेम प्रकाश पौडेल लगायतको टोलीले ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरेको हो ।
वडाले ‘वडा अध्यक्षसँग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत नियमित चेकजाँचमा जान नसक्ने नागरिकलाई लक्षित गरी गाउँमै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाएको वडाअध्यक्ष पाठकले बताए । अवकाशप्राप्त स्वयंसेविकाको स्थानमा अर्को एकजना स्वयंसेविका समेत भर्ना गरी साईकल समेत वितरण गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।
वडाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको बताउदै वडाअध्यक्ष पाठकले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरुवात गर्दै ज्येष्ठ नागरिकको नजिक पुग्न सफल भएको जानकारी दिए । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा उनीहरुलाई टाढा जान नपर्ने र खर्च पनि नहुने उनको भनाइ छ ।
ज्येष्ठ नागरिकको गाउँमै पुगेर सुगर, प्रेसर, बाथ, छालालगायत रोगको जाँच र निःशुल्क औषधी दिने गरेको उनले बताए । कोही पनि वडाबासी उपचार नपाएर दुःख नपाउन् र नियमित चेकजाँच गरी सामान्य उपचारमा स्वस्थ जीवन जिउन सकुन् भन्ने अभिप्रायले गाउँमै स्वास्थ्य सेवा पुर्याउनका लागि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको अध्यक्ष पाठकले बताए ।
कार्यक्रममा २५ जना ज्येष्ठ नागरिकको निःशुल्क बिमा समेत गरिएको छ । शिविरमा वित्तीय साक्षरता सम्बन्धी प्रभु बैंकका प्रतिनिधिले सामाजिक सुरक्षा भत्ताका बारेमा प्रशिक्षण दिएका थिए । सो शिविरमा वडा सदस्यहरु गोबिन्द प्रसाद रिजाल, पूर्ण प्रसाद आचार्य (संजय), गीता गन्धर्व, सीता खनाल, टोल विकासका प्रतिनिधि, सरोकारवाला, प्रभु बैंक मणिग्रामका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij