भैरहवा, ८ चैत ।
होटल व्यवसायीले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि राज्यसँग पटकपटक आग्रह गरे पनि उक्त मागको सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरुले विमानस्थल सञ्चालनको लागि राज्यलाई दबाब दिन अब आन्दोलनको विकल्प नभएको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा होटल व्यवसायीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा होटल व्यवसायी महासंघ, नेपालका संस्थापक अध्यक्ष माधव नेपालले विमानस्थल सञ्चालन हुने आशामा धेरै होटलहरु बने पनि अहिले व्यवसाय धरासायी भएको बताए । उनले भने, ‘विमानस्थल नियमित सञ्चालनका लागि राज्यसँग पटकपटक आग्रह गर्यौं । तर, राज्य कानमा रुई कहालेर बसेको छ । राज्यमा अस्थिरता छ । पटकपटक सरकार परिवर्तन भइरहेको छ । कहिले कसको सरकार । कहिले कसको सरकार ।’
उनले अरबौं लगानीमा निर्माण भएको विमानस्थल सञ्चालनमा नआउँदा राज्य सञ्चालकप्रति प्रश्न उठेको बताए । संस्थापक अध्यक्ष नेपालले केही निश्चित मान्छेहरु विमानस्थल चलाउन नदिनेतर्फ लागेको आरोप लगाए । विमानस्थल सञ्चालनका लागि भैरहवाले आह्वान गर्ने आन्दोलनमा सहभागीता जनाउने उनले बताए ।
लुम्बिनी क्षेत्रभित्रका विहार र गुम्बाले होटल सञ्चालन गर्दा होटल व्यवसायीले के गर्ने भन्दै प्रश्न गरे । उनले लुम्बिनीमा होटलहरु भरिभराउ मात्र त्यहाँका पर्यटक आएर भैरहवा बस्ने बताए ।
पर्यटनकै माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सकिन्छ भनेर आफूहरु लागिपरेको बताए । पर्यटन क्षेत्रको महत्वपूर्ण अंग होटल भएको र आफ्नो मूल्य मान्यतालाई कहिल्यै बिर्सन नहुने नेपालले बताए । उनले भने, ‘व्यवसायलाई परिमार्जित गर्नुपर्छ । यो युगको आवश्यकता र माग हो ।’ होटल व्यवसायी महासंघमा सवा १ लाख व्यवसायीहरु आबद्ध रहेको नेपालले बताए । ‘व्यवसायीका पीर, मर्का र समस्याको यथोचित समाधान हुन नसकेकाले एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । फुटेर होइन जुटेर शक्तिको निर्माण गर्नुपर्छ, ’उनले भने ।
त्यस्तै होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको, लुम्बिनी प्रदेशको मात्र नभइ पश्चिम नेपालको विकासको द्वार भएको बताए । उनले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा यो खण्डहर बन्दैछ । विमानस्थल सञ्चालनका लागि आन्दोलन र पहल गर्नुपर्छ ।’
उनले व्यवसायीका समस्या सम्बोधनका लागि होटल व्यवसायी महासंघले पहल गर्दै आएको बताए । महासंघसँग व्यवसायीले धेरै आशा, भरोसा र अपेक्षा राखेको उनले बताए ।
होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्राले महासंघलाई अझ बलियो बनाउनुपर्ने बताए । उनले भने, ‘महासंघ हाम्रो छाता संगठन हो । हामी एकताबद्ध हुनुपर्छ ।’
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलले होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशले आफ्नो बैठकका लागि भैरहवालाई रोजेको भन्दै धन्यवाद ज्ञापन गरे ।
संगठनका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्ण)ले संघ–संस्थाहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले नयाँ वर्ष २०८१ को स्वागत गर्दै पर्यटन प्रवद्र्धनका लागि भैरहवामा चैत ३० गते आयोजना गर्न लागिएको सिद्धार्थ सडक खाना महोत्सव सफल बनाउन सबैबाट साथ र सहयोगको अपेक्षा राखेको बताए ।
कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश बैठकका क्रममा भैरहवा आएका पदाधिकारी र सदस्यहरुलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले स्वागत गरेको थियो ।