भैरहवा, १४ चैत ।
लुम्बिनी विकास कोषभित्रका बिहार तथा गुम्बामा पर्यटक राखेर व्यवसाय गर्न दिइएको भन्दै यहाँका होटल व्यवसायीले विरोध गरेका छन् । लुम्बिनी होटल संघ, नेपालको अगुवाइमा स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरुको आन्दोलनको पूर्वसन्ध्यामा मंगलबार बेलुकी मायादेवी मन्दिर परिसरमा दीप प्रज्जवलन तथा परित्राण पाठ कार्यक्रम गरिएको छ ।
‘गरी खान देउ’ भन्ने मूल नाराका साथ लुम्बिनी विकास कोषविरुद्ध शान्तिपूर्ण आन्दोलन थालिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । ‘गौतमबुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनीभित्रका बिहार तथा गुम्बा गेष्टहाउस र होटलको रुपमा सञ्चालन भइरहेको छ । जसका कारण व्यवसायी धरासायी हुने स्थितिमा छन् । बाध्य भएर यो कार्यक्रम अघि सारेका छौं, ’ज्ञवालीले भने ।
उनले विगत एक दशकदेखि लुम्बिनीभित्रका गुम्बा तथा बिहारमा व्यवसायिक रुपमा होटल सञ्चालन नगर्न माग गर्दै आए पनि मागको सुनुवाइ नभएकाले बाध्यताबस आन्दोलनमा उत्रिनुपरेको बताए । ‘लुम्बिनीको होटल व्यवसाय कहालीलाग्दो अवस्थामा पुगेको छ । लुम्बिनी विकास कोषका पदाधिकारीले आफ्ना गल्ती सच्याउनुहुन्छ र यहाँका पदाधिकारी तथा कर्मचारीको सदवुद्धि पलाओस् भनी १०८ दीप प्रज्जवलन तथा परित्राण पाठ गरेका छौं । ’उनले भने ।
उनले विश्वमै शान्तिको सन्देश फैलाउने गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट जायज माग पुरा गराउन शान्तिपूर्ण कार्यक्रमको सुरुवात गरिएको बताए । ‘व्यवसायीले लुम्बिनी विकास कोषबाट कुनै सहयोग पाएका छैनौ । कोषबाट नै व्यवसायमाथि हमला हुने काम भयो । कोषमा साढे १२ सय विघामा ४२ वटा प्लट छुट्याएर जुन उद्देश्यले उहाँहरु (गुम्बा तथा बिहारहरु) लाई जग्गा दिइएको थियो । त्यो उद्देश्य पुरा नगरी व्यवसायिक प्रयोजनका लागि गेष्ट हाउस सञ्चालन गरिएको छ, ’उनले भने ।
माग पूरा नभएसम्म एक कदम पनि पछाडी नहट्ने र आन्दोलनलाई निरन्तर अघि बढाउने ज्ञवालीले बताए । उनले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए आन्दोलनलाई अझ सशक्त बनाउने र लुम्बिनीमा सञ्चालित सम्पूर्ण होटलका चाबी लुम्बिनी विकास कोषलाई बुझाउने चेतावनी दिए ।
अध्यक्ष ज्ञवालीका अनुसार संघले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको र कोषबाट चैत २ गते पत्र प्राप्त भएपछि समस्या समाधान हुने आशामा रहे पनि त्यसो हुन सकेन । उनले कोषसँग वार्तामा बस्न तयार रहेको बताए।
लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बिहारको भावनाविपरीत होटलको रुपमा सञ्चालन हुन लागेको धेरै लामो समय भइसक्दा र पटकपटक सचेत गराउँदा पनि वेवास्ता गरिएको बताए । उनले भने, ‘महानाम भन्तेज्यूबाट परित्राण पाठ गरिएको छ । गलत कार्य रोक्ने सदवुद्धि पलाओस् भनेर यो कार्यक्रम गरेका हौं ।’
महासचिव अर्यालले चैत १४ गते बुधबार (आज) दिउँसो ३ बजे लुम्बिनीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।