२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्नैपर्छ : घनश्याम भुसाल

सोमवार , बैशाख १०, २०८१

  • 913
    Shares
  • 913
    Shares
  • भैरहवा, १० वैशाख  ।
    नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्नैपर्ने बताएका छन् । उनले यसमा अलिकति मिहिनेत गर्नुपर्नेमा जोड दिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको रुपन्देही क्षेत्रका आर्थिक मुद्दा समस्या र समाधान विषयक छलफल कार्यक्रममा भुसालले यस्तो बताएका हुन् । उनले भने, ‘मेरोतर्फबाट यो विमानस्थल चल्छ जस्तो लाग्छ र चलाउनुपर्छ । राज्यको लगानी जस्तै निजी क्षेत्रको लगानी पनि उत्तिकै छ । कमसेकम दिनमा ५–१० वटा हवाइजहाज चलाउन सुरु गर्नुपर्यो । ५ वटा चलेपछि त्यो बढ्दै जान्छ ।’

    पूर्वमन्त्री समेत रहेका भुसालले विमानस्थलको मुद्दा मेरो, तपाईहरुको र हाम्रो भएको बताए । उनले भने, ‘समस्या समाधानका लागि यहाँहरुले आन्दोलन गरिरहनुभएको छ । चिच्याइरहनुभएको छ । म यहाँहरुको साथमा छु । राजनीतिक नेतृत्वले पनि आफ्नो दायित्व अझ राम्रोसँग निर्वाह गर्नुपर्छ जस्तो लाग्छ ।’

    नेता भुसालले राजनीतिक रुपमा आफू केही समय ‘डिस्टर्ब’ भएको र व्यवस्थित हुन नपाएको भन्दै अब यहाँ (रुपन्देही) का समस्या समाधान गर्न  लागिपर्ने बताए । उनले आफू एक्लैले समस्या समाधान गर्ने कुरा नगर्ने र यस्तो भन्न पनि नहुने बताए । आफूले समस्या समाधान गर्न नसके भैरहवाको चोकमा आएर भन्ने बताए । उनले भने, ‘यो एअरपोर्टसँग म पनि थोरधेर सम्बन्धित छु । म विगतमा यही क्षेत्रबाट सांसद् थिए । २०५४ सालमा २०५ सांसद्मध्ये १७६ सांसद्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्दै हस्ताक्षर गरेर सरकारले बुझाएका थियौं । १७६ जनामा हस्ताक्षर गर्नेमध्ये म पनि एक हुँ । मुलुकमा आर्थिक शिथिलता रहेको उनको भनाइ थियो । ’

    कार्यक्रममा उद्योगी-व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि राज्यले ध्यान नदिएको गुनासो गरेका छन् ।

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल सञ्चालन गर्नेतर्फ सरकार र राजनीतिक नेतृत्वको ध्यान पुग्न नसकेकाले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएको बताए । उनले विमानस्थल नियमित र पूर्ण सञ्चालनतर्फ सरकार उदासिन रहेको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले विमानस्थल सञ्चालनका लागि संघ संस्था, नागरिक समाजले गुहार गरिरहेको भए पनि राज्यले नसुनेको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले राज्यले उद्योग व्यवसायलाई बचाउनुपर्ने धारणा राखे ।

    कार्यक्रममा नाट्टाका लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष सागर अधिकारी, सिद्धार्थ सञ्जालका महासचिव संजय बजिमय, लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भसाल, सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष राममिलन यादव, उद्योगी चन्द्रमान श्रेष्ठ, सिद्धार्थ उदोग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार कुल प्रसाद न्यौपाने, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र कुमार श्रेष्ठलगायतले भनाइ राखेका थिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यको स्वागत तथा महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।