images
images

शुक्रवार, जेठ ४ गते २०८१

बुटवलका ११ वटा ट्राभल एजेन्सीलाई कारवाही

बुटवलका ११ वटा ट्राभल एजेन्सीलाई कारवाही

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • बुटवलका ११ वटा ट्राभल एजेन्सीलाई कारवाही

    भैरहवा, २० वैशाख ।

    images
    images
    images

    जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सीहरुलाई जरिवानासहित कारवाही गरेको छ । दर्ता, नवीकरण र शाखा सञ्चालन अनुमति नलिएका ट्राभललाई कारवाही गरिएको हो । बिहीबार जिल्ला प्रशासन र पर्यटन डिभिजन कार्यालयसहितको संयुक्त अनुगमन समितिले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका ट्राभललाई कारवाही गरी तत्काल आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।

    समितिले बुटवल उपमहानगरपालिका–९ मा रहेका १४ वटा ट्राभलहरुको अनुगमन गरेको थियो । जसमध्ये ३ वटा कानूनसम्मत सञ्चालनमा रहेको पाइए पनि बाँकी ११ वटा भने मापदण्डअनुसार नपाइएपछि जरिवानासहित कारवाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले बताए । उनका अनुसार कारबाहीमा परेका ट्राभल एजेन्सीहरु दर्ता विनै संचालन गरिएको, कपिलवस्तु र रुपन्देहीका विभिन्न ठाउँमा प्रधान कार्यालय खोलेर शाखा सञ्चालन गरिए पनि अनुमती नलिइएको, नवीकरण नगरी सञ्चालन गरिएको पाइएको छ ।

    समितिले सरकारी निकायबाट लिनुपर्ने इजाजतपत्र नलिइ सञ्चालनमा रहेका रुद्रावती टुर्स एण्ड ट्राभल, खलंगा सुपादेउराली टुर्स प्रा.लि., लुम्बिनी हिमालय टुर एण्ड ट्राभल प्रा.लि., सुपादेउराली टुर एण्ड ट्राभल प्रा.लि., श्री दुर्गेश्वरी ट्राभल प्रा.लि., जनसगरमाथा टुर एण्ड ट्राभल, नमस्ते बिहानी टुर एण्ड ट्राभल, न्यु सागर एण्ड सगरमाथा टुर्स एण्ड ट्राभल, न्यु सुपादेउराली माँ टुर्स एण्ड ट्राभल प्रा.लि., श्री शुभसाइत टुर्स एण्ड ट्राभल प्रा.लि. र सुपादेउराली टुर्स एण्ड ट्राभललाई जरिवानासहित कारवाही गरेको हो । यी ११ वटै ट्राभल एजेन्सीलाई कारवाहीस्वरुप जनही २० हजारका दरले २ लाख २० हजार जरिवाना तिराइएको पर्यटन डिभिजन कार्यालय, रुपन्देही प्रमुख गीता आचार्यले बताइन्।

    प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नुपूर्व अनुमति लिनपर्ने व्यवस्था छ । यदि अनुमति बिनै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर दर्ताबिनै सञ्चालनमा रहेका र नविकरण नगरेका ट्राभल एजेन्सीलाई जरिवानासहित कारवाही गरिएको हो ।

    उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) ले जिल्ला प्रशसनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । तर, अहिले बजारको सुस्ताएको आर्थिक अवस्थालाई हेरेर प्रदेश पर्यटन ऐन अनुसार कारवाही गरिएको हो ।

    अनुगमन गरिएका ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै सञ्चालन गर्न निर्देशन गरिएको छ । कारवाहीमा परेका ट्राभलको पुनः अनुगमन गरिने आचार्यले बताइन् । उनका अनुसार मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको भन्दै कार्यालयमा ट्राभलबारे जनमानसबाट गुनासो आउने गरेका छन् । त्यस्ता गुनासाहरुलाई कार्यालयले सम्बोधन गरी मापदण्ड पालना नगर्ने व्यवसायीलाई कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा धेरै शाखा संचालनको अनुमति बिना र केही ट्राभल नविकरणबिनै सञ्चालन गरेको पाइएपछि त्यस्ता ट्राभल एजेन्सीलाई एक महिनाभित्र  आवश्यक सबै निकायमा दर्ता र नविकरण गरी जिल्ला प्रशासन वा पर्यटन डिभिजन कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ ।

    अनुगमन समितिले गत २०८० चैतमा भैरहवाका १६ वटा ट्राभलको अनुगमन गरी ३ वटालाई कारवाहीसहित जरिवाना गरेको थियो । खासगरी दर्ताबिनै सञ्चालित ट्राभलले सर्वसाधारणलाई ठग्ने गरेको गुनासा आउने गरेका छन् । यसबारे कानुनसम्म सञ्चालित ट्राभलहरुले पनि गुनासो गर्दै आएका छन् । पछिल्लो समय अनुगमन समितिले ट्राभललाई कडाई गर्दै आएको छ । जिल्लामा दर्तावाला ट्राभल २ सय ५० को हाराहारीमा छन् । तर, त्यसमध्ये १ सयको हाराहारीमा रहेका ट्राभलले नवीकरण नै गरेका छैनन् । ती ट्राभलको अनुगमन गरी कानूनी दायरामा ल्याइने आचार्यले बताइन् ।

    अनुगमनमा जिल्ला प्रशासन र पर्यटन डिभिजन कार्यालयसँगै लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, श्रम कार्यालय, बुटवल उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, सुरक्षा निकाय लगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij