भैरहवा, २२ वैशाख ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले गाडी र साडी मात्रै बेचेर मुलुक नबन्ने बताएका छन् । मोर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङको भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गरेका हुन् ।
उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजादासम्म मुलुक अगाडि बढन नसक्ने बताए । ‘अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भइरहेका छन्’ महासचिव भुसालले भने, ‘अब नेपाल राष्ट्रिय पूँजीको विकास गरेर समाजवादमा जाने नीति लिएका छौं ।’ उनले रोजगारी सिर्जना गर्दै मुलुकमा १० वर्षभित्र राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताए । नेपालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर, अहिले दलाल पूँजीवाद रहेकाले त्यससँग जुध्न राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताए ।
महासचिव भुसालले नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरी नीति बनाउने समेत बताए । उनले अहिले देशमा उद्योग धन्दा धारासायी भएको र निजी क्षेत्र उत्साहित हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए ।
उनले अब उद्योगधन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए । २०६२/६३ सालको जनक्रान्तिले समान्तवाद समाप्त पारेको बताउँदै अबको बाटो राष्ट्रिय पूँजीको विकास गरी रोजगारी सिर्जना गर्नमा केन्द्रीत हुनुपर्ने उनले जोड दिए । नेपालका कम्यूनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले आफुहरूको महाधिवेशनको दस्तावेजले हलचल ल्याउने बताए । उनले आफूहरूको विद्रोह संसद विघटनसँग मात्रै नजोडिएको बताउदै केपी ओलीसंग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेको बताए ।
उनले आफूहरूको महाधिवेशन समयमै हुने समेत बताए । महाधिवेशनको दस्तावेजले कम्यूनिष्ट पार्टीहरूमा हलचल ल्याउने समेत बताए । उनले अहिले बनेको गठबन्धनमा अस्तित्वसहित आफूहरू सहभागी भएको बताए । जनता र राष्ट्रका मुद्दामा सँगैसँगै हुने भएकाले सरकारका गएको समेत उनले बताए । उनले काँग्रेससँगको गठबन्धनमा बस्दा पुच्छर बनेको भन्नेहरूले फेरि एमालेसँग मिल्दैछन् भनेर हल्ला फैलाएको बताए । उनले अहिले कुनै पनि दलसँग एकता नहुने बताए ।
प्रशिक्षण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्च हरि पराजुलीले जनताका आधारभूत विषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गरे । उनले समाजमा किसान, मजदूर, दलित, महिला तथा उत्पीडित समुदायका मुद्दामा उठाउन समेत उनले आग्रह गरे ।
त्यस्तै कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्युनिष्ट आन्दोलनमा देखिएको निराशालाई अब आफूहरूले आशामा परिणत गर्ने बताए । उनले २०७५ सालसम्म कम्युनिष्ट बहुमत रहेकोमा एमालेका कारण त्यो घटेको समेत बताए । उनले महाधिवेशनले स्पष्ट नीति र बाटो तय गर्ने भएकाले भ्रममा नपरी संगठन निर्माणमा जुटन नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेता बृहस्पति अधिकारी, अशोक कोइराला, मोर्चा संगठन लुम्बिनीका इञ्चार्ज अब्दुल हुसेन खाँ, रूपन्देहीका अध्यक्ष श्रीराम यादव, अखिल नेपाल महिला संघ समाजवादी लुम्बिनी अध्यक्ष लक्ष्मी भुसाल लगायतले बोलेका थिए । उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीलाई सम्मान गरिएको थियो । बैठकमा नेकपा एसका विभिन्न जनवर्गीय संगठनका प्रदेश अध्यक्ष एवं प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गरेका थिए ।