भैरहवा, २६ वैशाख ।
अनलाईन सट्टेबाजी (जुवा) सञ्चालन गरेको आरोपमा रुपन्देही प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने सबैजना भारतीय नागरिक हुन् ।
बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित अञ्जन शर्माको घर फ्ल्याट भाडामा लिइ सट्टेबाजी (जुवा) सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार १३ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । ‘फेयर प्लेएम अनलाइन बेटिङ साईट’ मार्फत भारतीय नागरिकहरुलाई मोबाइल सेटहरु तथा ल्यापटपसमेत प्रयोग गरी सोशल एप वाट्सप समेतको माध्यमबाट सट्टेबाजी (जुवा) सञ्चालन गरी अवैध तवरले अनलाईनबाट रकम ट्रान्सफर आदानप्रदान गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो, ’डीएसपी भट्टले भने । पक्राउ परेका व्यक्तिहरुलाई रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको साथबाट विभिन्न कम्पनीको ल्यापटप १३ थान, मोबाइल सेट ४० थान, सीमकार्ड १३ थान, प्रयोग नगरेको भारतीय सीमकार्ड १३ थान, सीमकार्ड खोल १८ थान, विभिन्न व्यक्तिहरुको फोटो १२ थान, राउण्टर ४ थान, विभिन्न मोबाइल तथा ल्यापटपटका चार्जरहरु, भारतीय बैंकको चेकहरु र आधार कार्डहरु समेत बरामद गरेको छ ।